काठमाडौँ । आईसीसी टी–२० विश्वकपअन्तर्गत २२औँ खेलमा आयरल्यान्डले ओमानलाई ९६ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
शनिबार कोलम्बोस्थित सिंहली स्पोट्र्स क्लब मैदानमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३५ रनको विशाल योगफल बनायो । यो जारी विश्वकपकै अहिलेसम्मको सर्वाधिक स्कोर हो । जवाफमा ओमान १८ ओभरमा १३९ रनमै समेटियो । उत्कृष्ट प्रदर्शन गर्दै ९४ रनमा अविजित रहेका कप्तान कोरकान टकर प्लेयर अफ द म्याच घोषित भए ।
लक्ष्य पछ्याएको ओमानका लागि ओपनर आमिर कलीमले २९ बलमा ५० रनको अर्धशतक प्रहार गरे । हम्माद मिर्जाले ३७ बलमा ४६ रन बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् । आयरल्यान्डका बलरमध्ये जोशुआ लिटलले ३ विकेट लिए । मैथ्यू हम्फ्रीज र बैरी म्याककार्थीले समान २–२ विकेट लिए भने जर्ज डकरलले १ विकेट झारे। आशीष ओडेदरा र हम्माद मिर्जा रनआउट भए ।
आयरल्यान्डका कप्तान टकरले ५१ बलमा ९४ रनको अविजित पारी खेल्दै टोलीलाई विशाल स्कोरसम्म पुर्याए । ग्यारेथ डेलानीले ३० बलमा ५६ रनको योगदान दिए। अन्तिम ओभरमा जर्ज डकरलले लगातार तीन छक्का प्रहार गर्दै मात्र ९ बलमा अविजित ३५ रन जोडेपछि आयरल्यान्डले २३५ रनको कीर्तिमानी स्कोर बनाएको हो ।
यो जितसँगै आयरल्यान्डले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने ओमानले लगातार तेस्रो हार बेहोरेको छ ।

FACEBOOK COMMENTS