काठमाडौँ । लामो समयदेखि जारी राजनीतिक खिचातानी र शक्ति संघर्षपछि बंगलादेशमा मंगलबार नयाँ मन्त्रिमण्डलको शपथग्रहण समारोह हुँदैछ ।
शपथग्रहणअघि सोमबार आफ्नो कार्यकालको अन्तिम दिन अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले कार्यालयका अधिकारी तथा कर्मचारीसँग विदाइ भेट गरेका छन् ।
युनुसले कार्यालयमा आयोजित कार्यक्रममा कर्मचारीहरूसँग भेटघाट गर्दै कार्यकालभरि दिएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । सञ्चारमाध्यमका अनुसार उनले सम्बोधनपछि कर्मचारीहरूसँग सामूहिक तस्बिरसमेत खिचाएका थिए ।
मंगलबार हुने शपथग्रहणसँगै बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का नेता तारिक रहमानले नयाँ सरकारको नेतृत्व सम्हाल्नेछन् । हालै सम्पन्न १३औँ संसदीय निर्वाचनमा बीएनपीले २९९ मध्ये २१२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो । पार्टी अध्यक्ष रहमान अब देशका नयाँ प्रधानमन्त्री बन्ने तयारीमा छन् ।
यसैबीच, बंगलादेशका सेना प्रमुख जनरल वेकर उज जमानले पनि सोमबार युनुससँग शिष्टाचार भेट गरेका छन् । रिपोर्टअनुसार युनुसले आम निर्वाचनका क्रममा सशस्त्र बलले प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

निर्वाचन कार्यक्रमअनुसार मुख्य निर्वाचन आयुक्त एएमएम नासिर उद्दीनले बिहान १० बजे नव-निर्वाचित सांसदहरूलाई शपथ दिलाउनेछन्। त्यसपछि अपराह्न ४ बजे राष्ट्रपति मोहम्मद शहाबुद्दीनले नयाँ बीएनपी नेतृत्वको सरकारलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ ।

FACEBOOK COMMENTS