नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवारमाथि कुटपिट गरेका छन् ।
नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचन प्रतिस्पर्धामा रहेका उम्मेदवार राजु प्रसाद हरिजनमाथि रास्वपा कार्यकर्ताले कुटपिट गरेका हुन् । घरदैलो गर्दै बर्दघाट नगरपालिका– १२ र १३ को सीमानामा पर्ने जमुनिया बजारमा पुगेको आफू र आफ्नो टोलीमाथि ‘रास्वपाको एरियामा किन भोट माग्न आएको ?’ भन्दै कुटपिट गरेको उम्मेदवार हरिजनले बताए ।
यस्तो छ, उम्मेदवार हरिजनको भनाइ–
हामी निर्वाचन प्रचार प्रसारको शिलशिलामा हिजो घर दैलो कार्यक्रम गर्ने शिलशिलामा बर्दघाट नगरपालिका वडा नं १२ र १३ नम्वरको सीमानामा पर्ने जमुनिया बजारमा पुगेका थियौं । अपराह्न अन्दाजी ४ बजे हामीले कोणसभा गर्ने तयारी गरेका थियौँ ।
अचानक मादक पदार्थ गरेका युवाहरुको एउटा समूह आएर यो रास्वपाको एरिया हो यहाँ कसैले घरदैलो गर्न भोट माग्न पाउँदैनौ भने । मदिराले लट्ठीएका उनीहरुले हामीलाई घण्टीको प्रचार गर्न दबाब दिए । मैले बजारमा जिपमाथि बसेर धारणा राखिरहेको थिएँ । मैले उनीहरुलाई घण्टीलाई भोट दिने भए पनि दिनुस् तर मेरो विचार त सुनिदिनुस् न भनेर आग्रह गरेँ । तर, मेरो कुरा सुन्नै चाहेनन् अचानक हाम्रो जिल्ला सदस्य नकुलजीमाथि आक्रमण गरे ।

त्यसपछि अर्को साथी निरज र गणेशजीमाथि पनि आक्रमण गरे । त्यसपछि मैले माथिबाट झरेर म उनीहरुलाई प्रचार प्रसारमा अवरोध नगर्न आग्रह गरेको थिएँ । उनीहरुले म माथि पनि मुक्का प्रहार गरे । मेरो आखाँ फुटाउने प्रयास गरेका थिए । मेरो आंँखामाथि चोट लागेको छ ।

मैले हामीमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छु । यस्तो अवस्था श्रृजना गरेर उम्मेदवारलाई भोट माग्न जान पनि नदिने हो भने कसरी स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन हुन्छ भनेर पत्याउने ?

नवलपरासी–१ मा रास्वपाबाट ५५ वर्षीय विक्रम खनाल प्रतिस्पर्धामा छन् । यस्तै, नेपाली कांग्रेसबाट विनोद चौधरी, एमालेबाट राम प्रसाद पाण्डेय र नेपाली कम्युनिष्ट पार्टीबाट सिन्धु जलेसा बुढाथोकी निर्वाचन प्रतिस्पर्धामा छन् ।

FACEBOOK COMMENTS