दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले दाङलाई शैक्षिक तथा प्रविधिक हबको रूपमा विकास गर्ने अभियान तीव्र गतिमा अगाडि बढिरहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत् उनले दाङको समग्र विकास कुनै एक दलको मात्र एजेन्डा नभई सम्पूर्ण जिल्लाबासीको साझा हितको विषय भएको उल्लेख गरेका छन् ।
उनका अनुसार लामो समयदेखि अलपत्र परेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ईन्जिनियरिङ् अध्ययन संस्थान घोराही क्याम्पस को निर्माण प्रक्रिया अहिले तदारुकताका साथ अघि बढाइएको छ ।
३० करोड रुपैयाँ स्रोत सुनिश्चित गरेपछि २०८२ साल वैशाख २३ गते बोलपत्र आह्वान गरिएको र २०८२ साल माघ ८ गते २० करोड ८७ लाख ४० हजार २२१ रुपैयाँमा निर्माण सम्झौता भएको उनले जानकारी दिएका छन् ।
दाङ क्षेत्र नं २ का उम्मेदवार समेत रहेका पोखरेलले २०८४ सालभित्र निर्माण सम्पन्न गरी कम्प्युटर इन्जिनियरिङ् कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै उक्त अत्याधुनिक क्याम्पसले दाङलाई सूचना प्रविधिको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार यस परियोजनाले दाङलाई ‘ब्याङ्लोर मोडल’ अनुरूप नेपाली ‘सिलिकन भ्याली’ अर्थात् ‘दाङ भ्याली’का रूपमा विकास गर्ने आधार तयार गर्नेछ ।

“जिल्ला अगाडि बढ्नु कुनै दल विशेषको हितको कुरा होइन, यो समग्र जिल्लाबासीको भविष्यसँग जोडिएको विषय हो,” उनले सामाजिक सञ्जाल पोस्टमार्फत बताएका छन् ।

पोखरेलले दाङलाई शिक्षा, प्रविधि र नवप्रवर्तनको केन्द्र बनाउने दीर्घकालीन सोचसहित काम भइरहेको उल्लेख गर्दै सम्पूर्ण दाङबासीलाई बधाई दिएका छन् ।

FACEBOOK COMMENTS