काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध चारदेखि पाँच हप्तासम्म लम्बिन सक्ने बताएका छन् । यसअघि उनले युद्ध करिब चार हप्ता चल्ने बताएका थिए । अहिले भने अवस्था हेर्दा पाँच हप्तासम्म जान सक्ने संकेत दिएका हुन् ।
ट्रम्पका अनुसार अमेरिकाले इरानको हालको नेतृत्वपछि सत्ता सम्हाल्न सक्ने केही व्यक्तिलाई निशाना बनाएको थियो । ‘एपिक फ्युरी’ नाम दिइएको सैन्य कारबाहीको पहिलो दुई दिनमै ती सबै मारिएको उनको दाबी छ ।
आइतबार इरानको आक्रमणमा तीन अमेरिकी सैनिकको ज्यान गएको थियो भने पाँच जना घाइते भएका थिए । ट्रम्पले ती सैनिकको मृत्युको बदला नलिएसम्म इरानमाथिको आक्रमण जारी रहने बताएका छन् ।
यसैबीच, अन्तर्राष्ट्रिय समाचार संस्था रायटर्सले गरेको सर्वेक्षणअनुसार केवल एक चौथाइ अमेरिकी मात्र इरानमाथि भइरहेको अमेरिका–इजरायलको आक्रमणको पक्षमा छन्। सर्वेक्षणमा ४३ प्रतिशतले युद्धप्रति असहमति जनाएका छन् भने २९ प्रतिशतले स्पष्ट धारणा नदिएको बताइएको छ । ४२ प्रतिशत रिपब्लिकन समर्थकले अमेरिकी सैनिक मारिए समर्थन नगर्ने बताएका छन् ।
उता अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले आज पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । शनिबारदेखि इरानमाथि सुरु भएको आक्रमणपछि पहिलो पटक कुनै उच्च अमेरिकी अधिकारीले औपचारिक रूपमा जानकारी दिन लागेका हुन् । पत्रकार सम्मेलनमा संयुक्त सैन्य प्रमुख समितिका अध्यक्ष जन केन पनि सहभागी हुने जनाइएको छ । रक्षा मन्त्रालयले इरानमाथिको आक्रमण र समग्र सैन्य कारबाहीबारे विस्तृत जानकारी दिइने जनाएको छ।

FACEBOOK COMMENTS