काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव भएको तथा केही स्थानमा विक्रेताले तोकिएको भन्दा बढी मूल्य लिएर ग्यास बिक्री गरेको भन्ने समाचार सार्वजनिक भएपछि ग्यास विक्रेता महासंघ नेपालले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले मध्यपूर्व क्षेत्रमा बढेको अस्थिरताका कारण उपभोक्तामा ग्यास नपाइने हो कि भन्ने चिन्ता देखिनु स्वाभाविक भए पनि सरकारले तोकेको मूल्यभन्दा बढी लिएर ग्यास बिक्री गर्नु गम्भीर अपराध हुने स्पष्ट पारेको छ ।
महासंघले यदि कतै त्यस्तो काम भइरहेको भए तत्काल बन्द गर्न सम्पूर्ण ग्यास विक्रेतालाई अपिल गरेको छ । साथै यस्तो विषम परिस्थितिमा तोकिएको मूल्यभन्दा बढी रकम असुल गर्ने विक्रेता वा उद्योगमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
महासंघले सबै जिल्ला संघमार्फत देशभरका विक्रेतालाई पनि यस विषयमा जानकारी गराई गैरकानुनी काम नगर्न सचेत गराउन आग्रह गरेको जनाएको छ।


FACEBOOK COMMENTS