काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताएका छन् ।
बिहीबार देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु फार्मा एक्स्पोमा उनले निजी क्षेत्रले लामो समयदेखि स्थिर सरकारको आवश्यकता औँल्याउँदै आएको र त्यो पूरा हुन लागेको बताएका हुन् ।
उनका अनुसार, स्थिर सरकारले स्थायी नीति ल्याएर आर्थिक गतिविधि बढाउन सक्छ । हाल करिब दुईतिहाइ बहुमतनजिकको सरकार बन्न लागेको भन्दै ढकालले निजी क्षेत्रसँग सम्बन्धित विषय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रमा पनि समावेश गरिएको स्मरण गराए ।
रास्वपाले वाचापत्रमार्फत निजी क्षेत्रमैत्री प्रतिबद्धता व्यक्त गरेको उनले उल्लेख गरे । ती प्रतिबद्धता इमानदारीपूर्वक कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिए ।
ढकालका अनुसार, ती प्रतिबद्धता प्रभावकारी रूपमा लागु भएमा छोटो समयमा नै धेरै काम गर्न सम्भव हुनेछ । बाह्य तथा आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने खालका नीति अबको सरकारले लिनुपर्ने समेत उनले बताए ।

“आगामी दिनमा नीतिहरू बनाउँदा स्थायी नीतिहरू बनाउनुपर्छ । बाह्य र आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेका खालका नीतिहरू बनाउनुपर्छ,” उनले भने ।
अध्यक्ष ढकालले कतिपय भूतप्रभावी कानुनका कारण लगानीकर्तामा निराशा आइरहेको बताए ।

त्यस्ता कानुन लागु नहुने सुनिश्चितता राज्यले गर्नुपर्नेमा उनले जोड दिए । ढकालका अनुसार, भूतप्रभावी कानुन लागु नहुने सुनिश्चितता भएमा मुलुकमा छिट्टै आर्थिक गतिविधि बढाउन सकिन्छ । र, आन्तरिक रोजगारी सिर्जना गर्न मद्दत पुग्छ ।

आर्थिक गतिविधि बढेसँगै राजस्व संकलन पनि बढ्ने र त्यसबाट पूर्वाधार निर्माणमा समेत सहयोग पुग्नेछ । आर्थिक गतिविधि विस्तार हुँदा छोटो समयमा नै आमनेपालीको चाहना पूरा गर्न सकिने विश्वास समेत उनले व्यक्त गरे ।

FACEBOOK COMMENTS