काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए ) को नव निर्वाचित नेतृत्वले परराष्ट्र मन्त्री बालानन्द शर्मासँग शिष्टाचार भेट गरेको छ ।
नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सिंहदरबारमा भएको भेटमा विश्वभर रहेका नेपालीहरूको हितका लागि सरकार र संघबीचको सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल गरेको हो ।
भेटमा मन्त्री बालानन्द शर्माले नयाँ टोलीलाई बधाई दिँदै आगामी दिनमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले पनि संघलाई सरकारको विश्वासिलो साझेदार भन्दै सफल कार्यकालको शुभकामना दिएका छन् ।
डा. शर्माले मध्यपूर्वमा कार्यरत २० लाखभन्दा बढी नेपाली श्रमिकहरूको अवस्थाप्रति सरकार गम्भीर रहनुपर्ने आग्रह गर्दै यस संवेदनशील समयमा एनआरएनए सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको बताए । उनले गैरआवासीय नेपालीहरू नेपालका सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान गर्न प्रतिबद्ध रहेको पनि दोहोर्याए ।
संघका अध्यक्ष शर्माले मध्यपूर्व क्षेत्रमा रहेका नेपालीहरूको अवस्था सम्बन्धी प्रतिवेदन मन्त्रालयलाई बुझाउँदै संकटमा परेका नेपालीको सहयोगका लागि राहत कार्यक्रम अघि बढाइएको जानकारी दिएका छन् ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रोविन प्रसाद शेरचन, उपाध्यक्षहरू, आईईएस तथा ओबी सदस्यहरू, आईसीसी सदस्यहरू, एनसीसी अध्यक्षहरू तथा विभिन्न देशका गैरआवासीय नेपालीहरूको उपस्थिति रहेको थियो। परराष्ट्र मन्त्रालयका सचिव, सहसचिव तथा अन्य अधिकारीहरूको समेत सहभागिता रहेको उक्त भेटले एनआरएनए र मन्त्रालयबीचको समन्वय र सहकार्यलाई थप सुदृढ बनाएको छ ।

FACEBOOK COMMENTS