काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘इन्स्पायर सिरिज’ कार्यक्रम सुरु गरेको छ । एसईई परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई लक्षित गर्दै सो कार्यक्रम सुरु गरेको हो ।
मन्त्रालयले परीक्षापछिको समय विद्यार्थीलाई आफ्नो रुचि पहिचान गर्ने तथा नयाँ सीप सिक्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेको छ । यसै उद्देश्यअनुसार सुरु गरिएको इन्स्पायर सिरिजमार्फत विभिन्न क्षेत्रका सफल व्यक्तिहरूले आफ्ना संघर्ष, अनुभव र प्रेरणादायी कथा साझा गर्नेछन् ।
शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, यो कार्यक्रम सामाजिक सञ्जालमार्फत प्रसारण गरिनेछ, जसले विद्यार्थीलाई भविष्यको मार्गनिर्देशन गर्न, नयाँ सम्भावना खोज्न र आत्मविकासतर्फ प्रेरित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । मन्त्रालयले विद्यार्थीलाई यो समयलाई रचनात्मक बनाउन र आफ्नो क्षमता निखार्न पनि आग्रह गरेको छ ।