काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर तीनदिने नेपाल भ्रमणका निम्ति सोमबार काठमाडौं आउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा सरकार बनेपछि नेपाल आउन लागेका उनी पहिलो उच्चस्तरीय कूटनीतिज्ञ हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, नेपाल भ्रमणमा रहँदा अमेरिकी सहायक विदेशमन्त्री कपुरले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भने कुन दिन कति बेला भेट्ने भन्ने टुंगो लागिसकेको छैन । वैशाख ९ गते उनी स्वदेश फर्कने भ्रमणतालिका छ ।
गएको फागुन २१ गतेको निर्वाचनबाट झन्डै दुईतिहाइ सिट जितेको रास्वपा नेतृत्वको सरकारसँग सम्बन्ध सुधार गर्न अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।