काठमाडौं । प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बीमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न विशेष ध्यान दिएको बताएका छन् ।
प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कम्पनीमा संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गरेको बताएका हुन् ।
दिगो रुपमा सफलता हासिल गर्नका लागि कम्पनीले अल्पकालिक तथा दीर्घकालिन रणनीतिहरू तय गरेको अध्यक्ष मल्लले बताए । अध्यक्ष मल्लले भने, ‘सूचना प्रविधि नै आधुनिक बीमाको आधारशिला तथा ग्राहक वर्गहरूको सन्तुष्टिको मुख्य आधार हुन,।’
सूचना प्रविधिलाई सबल र विश्वसनीय बनाउनका लागि प्रविधिको उपयुक्त प्रयोग गर्दै छिटो र सहज सेवा उपलब्ध गराउने नीति लिएको अध्यक्ष मल्लको भनाई छ ।
उनले, ‘उत्कृष्ट र विश्वासिलो बीमा कम्पनी बन्ने उद्देश्यका साथै ‘प्रभुमा बीमा गरौं, निर्धक्क रहौं’ भन्ने नारालाई चरितार्थ गर्न कम्पनीले व्यवसाय वृद्धि, मानव संशाधनको विकास तथा आधुनिकीकरण, कर्मचारीहरूको वृत्ति विकास तथा तालिम, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, नीति तथा कार्यबिधिको पूर्ण परिपालनाका साथै ब्राण्डिङ्गमा जोड दिएको छ ।’

कर्मचारी नै संस्थाको मुख्य आधारशिला भएकाले कर्मचारी व्यवस्थापनलाई सुदृढ बनाउँदै कर्मचारीहरूलाई उपयुक्त तालिम लगायत प्रोत्साहनका उपायहरू अवलम्बन गरिएको उनको भनाई छ ।

कम्पनीले व्यावसाय वृद्धिमा परिणाममुखी नीति अवलम्बन गरेको र अत्यावश्यक बाहेक अनावश्यक खर्चहरू नियन्त्रणलाई निरन्तरता दिएको अध्यक्ष मल्लले बताए । यस वर्ष इन्डियन चेम्बर अफ कमर्सद्वारा थाईल्याण्डको बैंककमा आयोजित छैठौं संस्करणको इमर्जिङ एसिया अवार्डमा दुई वटा विधामा अवार्ड जित्न सफल भएको बताए ।

बीमा क्षेत्रमा देखिएका प्रतिकल वातावरणका बिच कम्पनीले समिक्षा वर्ष आर्थिक वर्ष २०८१/८२ को मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पूँजीको ९.१५७९ प्रतिशत ९८.७० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.४५७९ प्रतिशत नगद लाभांश हुन आउने रकम १५ करोड ५७ लाख ७१ हजार ७५३ वितरण गर्न सफल भएको बताए ।