काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा तथा सम्मान गर्ने उद्देश्यले “प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर” शीर्षकमा एक दिने विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
लुम्बिनी प्रदेश अन्तर्गत राप्ती/भेरी क्षेत्र तथा कर्णाली प्रदेशका अभिकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा करिब १७० भन्दा बढी बीमा सल्लाहकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथिहरूद्वारा दियो प्रज्वलन तथा गमलामा पानी हालेर गरिएको थियो।
कार्यक्रमको मुख्य आकर्षण अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजय झाको प्रशिक्षण सत्र रह्यो। उनले बिक्री कला, लक्ष्य निर्धारण, आत्मविश्वास विकास तथा बदलिँदो बीमा बजारमा सफल हुन आवश्यक रणनीतिबारे प्रभावकारी प्रशिक्षण प्रदान गरेका थिए। सहभागीहरूले प्रशिक्षणलाई प्रेरणादायी तथा व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्।
कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं लगायत विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कर्णाली प्रदेश प्रमुख गोविन्द ढकाल ले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
त्यसैगरी कर्णाली प्रदेश उप–प्रमुख धिरेन्द्र शाही, नेपालगञ्ज क्लष्टर हेड कमल शाही, राप्ती/भेरी क्षेत्रीय प्रमुख तथा कार्यक्रम सञ्चालक दिपेन्द्र रावत सहित विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले अभिकर्ताहरूलाई कम्पनीको मेरुदण्डको रूपमा उल्लेख गर्दै उनीहरूको सशक्तिकरण नै कम्पनीको दीर्घकालीन सफलताको आधार भएको बताए। प्रमुख बजार अधिकृत गणेश चौलागाईंले अभिकर्ताहरूलाई निरन्तर सिकाइ, अनुशासन र ग्राहकप्रति जिम्मेवार दृष्टिकोण अपनाउन आग्रह गर्दै यस्ता कार्यक्रमहरूले बजार प्रतिस्पर्धामा अग्रता दिलाउने विश्वास व्यक्त गरे।

कार्यक्रमका क्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। विशेषगरी आफ्ना शाखाअन्तर्गत उत्कृष्ट व्यापार गर्न सफल ७ जना अभिकर्ताहरूलाई उत्कृष्ट अभिकर्ताका रूपमा सम्मानित गरिएको छ। साथै सहभागीहरूबीच अनुभव आदानप्रदान तथा नेटवर्किङको अवसर पनि सिर्जना गरिएको थियो।

कम्पनीले यस्ता कार्यक्रममार्फत अभिकर्ताहरूको दक्षता अभिवृद्धि गर्दै देशभर बीमा सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। हाल कम्पनीका देशभर १४८ शाखा तथा उपशाखाहरू सञ्चालनमा रहेका छन्।