काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–१ जलजला नजिकै बिहीबार दिउँसो भएको जिप दुर्घटनामा ज्यान गुमाएका चालकसहित २० जनाकै सनाखत भएको छ । दुर्घटनामा परी १२ महिला, ४ पुरुष र ४ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनील थापा नेपालीका अनुसार मृत्यु हुनेमा रूकुम पूर्वको सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्खबहादुर बुढाथोकी, ५२ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बीसी, १० वर्षीय दिव्यन बीसी, २४ वर्षीया सिर्जना बुढाथोकी, १३ वर्षीय सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन् ।
त्यसैगरी, दाङको घोराही उपमहानगरपालिका–१५ की ५४ वर्षीया द्रुपती जीसी, ३२ वर्षीया तिला जीसी, ७ वर्षीय जेनिस जीसी, १२ वर्षीया जेनिसा जीसी, २५ वर्षीया एलिना जीसी, ७ वर्षीय संयोग जीसी, यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया विष्ट रहेका छन् ।
अरू मृतकहरूमा सिस्ने–५ की ६० वर्षीया मीना कामी र ६० वर्षीया लाटी भन्ने लक्ष्मी शाह, रूकुम पूर्वकै भूमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेत र सिस्ने–५ कै २७ वर्षीया रुपमिना बस्नेत, दाङको शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने–५ बस्ने सवारीचालक ४२ वर्षीय वेदबहादुर विक रहेका छन् ।
रुकुम पूर्वबाट तीर्थयात्री लिएर रोल्पाको जलजलामा पूजाआजाका लागि जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप बिहीबार दिउँसो ३ बजेतिर थबाङ गाउँपालिका–१ सल्यापस्थित थबाङ–जलजला कच्ची सडकखण्डमा दुर्घटनामा परेको थियो । तीर्थाटनका लागि सँगै निस्किएका गाउँलेहरूको एकैपटक मृत्यु भएको खबरपछि सिस्ने गाउँपालिका–५ को टाकुरा गाउँ यतिबेला शोकमा डुबेको छ ।

घटनास्थल अप्ठ्यारो स्थानमा भएकाले शव संकलनमा ढिलाइ भएको प्रहरीले जनाएको छ । दुर्घटनामा जिपको छतमा बसेका रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय समीर कामी मात्रै हाम फालेर जोगिएका छन् । उनको बायाँ खुट्टा, निधार र बायाँ आँखामा चोट लागेको थियो । उनी उपचारपछि घर फर्किएका छन् । सबै शवको पोष्टमार्टम पश्चात् आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर लगत्तै सदरमुकाम लिबाङबाट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्मासहितको प्रहरी टोली, सूर्य दल गणबाट नेपाली सेना र सशस्त्र प्रहरीसमेत घटनास्थलमा खटिएको थियो । निरन्तर परेको पानीका कारण कच्ची सडक चिप्लो भएको र जिपमा क्षमताभन्दा बढी यात्रु भएकाले अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।