दोलखा । ‘उज्यालो नेपालको आधार : जलविद्युत् श्रमिकको सुनिश्चित भविष्य’ भन्ने मूल नाराका साथ दोलखाको गोंगरस्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजना (अपर तामाकोशी हाइड्रोपावर लिमिटेड) मा १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्य रूपमा मनाइएको छ ।
आयोजनामा क्रियाशील स्वतन्त्र कर्मचारी युनियन, नेपाल र कर्मचारी युनियनको संयुक्त पहलमा विभिन्न चेतनामूलक तथा रचनात्मक कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइएको हो ।
दिवसको अवसरमा बिगु–१, गोंगरस्थित कार्यालय तथा आवास परिसरमा सरसफाइ, प्रभातफेरि र शान्तिपूर्ण श्रमिक र्याली निकालिएको थियो ।
खेलकुद प्रतियोगिता र पुरस्कार वितरण
श्रमिक दिवसकै अवसरमा आयोजनाको खेलकुद समितिले कर्मचारीहरूबीच विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गरेको थियो । ब्याडमिन्टन, टेबल टेनिस र परम्परागत हाँडी फुटाई प्रतियोगितामा कर्मचारीहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि एवम् रोल्वालिङ खोला जलविद्युत् आयोजनाका प्रमुख इन्जिनीयर शिवराम केसीले विभिन्न विधाका विजेता, उपविजेता तथा तृतीय हुने खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे । खेलकुद संयोजक विक्रम गुरुङको अध्यक्षतामा सम्पन्न उक्त समापन समारोहमा विजयी कर्मचारीहरूलाई पुरस्कृत गरिएको हो ।

श्रमिकको हकहितमा ऐक्यवद्धता

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि शिवराम केसी, कर्मचारी युनियनका अध्यक्ष शेष नारायण श्रेष्ठ, स्वतन्त्र कर्मचारी युनियन नेपालका वरिष्ठ उपाध्यक्ष हरिशरण आचार्य र इन्जिनीयर सहिष्णु शर्माले जलविद्युत् क्षेत्रमा अहोरात्र खटिने श्रमिकहरूको योगदानले नै मुलुक उज्यालोतिर लम्किएको चर्चा गरे । श्रमिकको हक, हित र भविष्य सुनिश्चित भए मात्र आयोजनाहरूको दिगो विकास सम्भव हुने धारणा उनीहरूको थियो ।
कार्यक्रममा कम्पनीका वरिष्ठ इन्जिनीयरद्वय विक्रम श्रेष्ठ र शिव दाहाल, कर्मचारी युनियनका निवर्तमान महासचिव राजकुमार श्रेष्ठलगायत प्राविधिक तथा प्रशासनिक कर्मचारीहरूको बाक्लो उपस्थिति थियो । विविध रचनात्मक क्रियाकलापसहित मनाइएको कार्यक्रमले कर्मचारीहरूबीच आपसी भाइचारा र श्रमप्रतिको सम्मानलाई थप प्रगाढ बनाएको सहभागीहरूले बताएका छन् ।
हेर्नुहोस् तस्बिरहरू–