काठमाडौँ । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जनमत पार्टीका तर्फबाट मधेश प्रदेश सभाका प्रमुख सचेतक चन्दनकुमार सिंहले हस्ताक्षर गरी सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए । तर यो पार्टीका तर्फबाट मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका अर्थमन्त्री महेशप्रसाद यादवले सरकारलाई दिएको समर्थन कायमै रहेको अर्को पत्र आज प्रदेश प्रमुखकहाँ पठाएका थिए । विवादकै विचमा अध्यक्ष सिके राउतले चन्दन कुमार सिंहलाई संसदीय दलको जिम्मेवारी दिएका छन् ।
यसैबीच जनता समाजवादी पार्टी नेपालले पनि आफ्ना सांसदहरूको हस्ताक्षर गराइसकेको छ । सरकारलाई दिइएको समर्थन फिर्ता लिएको पत्र आजै प्रदेश प्रमुखलाई बुझाउने तयारी छ । जसपा नेपालले पनि समर्थन फिर्ता लिएमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । मधेशमा एमालेको समर्थनमा जसपा नेपाल र जनमतसहितको सरकार बनाउने भित्रि तयारी गरिएको बताइएको छ ।
मधेश प्रदेशमा नेकपा एमालेको सबै भन्दा धेरै २४ सिट रहेको छ भने नेपाली काँग्रेसको २२, जसपा नेपालको १८, नेकपाको १५, जनमत पार्टीको १२, लोसपाको ८ तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको एक एक सिट रहेको छ ।