काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले आर्थिक एजेण्डामा सबै उद्योगी–व्यवसायीहरू एकजुट भएर काम गर्नुपर्ने बताएकी छिन् ।
महासंघले आज ललितपुरको ग्वार्कोस्थित होटेल टुलिपमा आयोजना गरेको ‘नवनिर्वाचित पदाधिकारीहरूसँगको परिचयात्मक भेटघाट कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले अन्य विषयहरूमा फरक–फरक धारणा र विचारहरू व्यक्त गरे पनि आर्थिक विषय र राष्ट्रिय हितको विषयमा एकजुट भएर काम गर्नुपर्ने धारणा व्यक्त गरेकी हुन् ।
सम्पूर्ण उद्योगी–व्यवसायी र निजी क्षेत्रका संघ–सङ्गठनहरू एकजुट हुँदा आफ्ना मुद्दाहरू सम्बोधन गराउन सहज हुने र सरकार बाध्य हुने भनाइ उनको थियो । ७७ वटै जिल्ला, नगर, वस्तुगत र एसोसिएट सदस्यहरूको एकीकृत शक्तिलाई परिचालन गर्दै महासंघले सरकारलाई दबाब र साथ दुवै दिनुपर्नेमा उनले जोड दिएकी छिन् ।
‘हामी सचेत भएर आर्थिक मुद्दामा एकजुट भयौँ भने सरकार हाम्रोअगाडि झुक्नैपर्छ र हामीसँग सहकार्य गर्नैपर्छ,’ उनले भनिन्, ‘सरकारलाई दबाब सृजना गर्न पनि हामी एकजुट हुनैपर्छ, राजनीति मात्र गरेर हुँदैन ।’ महासंघमा राजनीति धेरै हुन थालेकोतर्फ सङ्केत गर्दै उनले भनिन्, ‘अब राजनीतिक मुद्दाभन्दा आर्थिक मुद्दाले प्राथमिकता पाउनुपर्छ ।’
पूर्व राणाले आर्थिक विकास र समृद्धिको लागि निजी क्षेत्रको साथ लिन सरकारलाई पनि आग्रह गरेकी छिन् । निजी क्षेत्रसँगको सहकार्यबिना मुलुकमा आर्थिक क्रान्ति गर्न नसकिने चर्चा गर्दै उनले सरकार–निजी क्षेत्र सहकार्य अपरिहार्य रहेको बताइन् ।

कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको ‘६ स्तम्भ, ६० पहल’ मार्गचित्रको प्रशंसा गर्दै पूर्व अध्यक्ष राणाले पूर्वअध्यक्षहरूको तर्फबाट आवश्यक परेको खण्डमा सधैँ रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
