काठमाडौं– सरकारले संचालन गर्ने सुपथ मूल्य पसलमा बम्पर छुट दिने भएको छ।
दशैं तिहार र छठ पर्वलाई लक्षित गरि सञ्चालनमा ल्याउन लागेको सुपथ मूल्य पसलमा सरकारी संस्थानका अलवा निजी क्षेत्रलाई पनि सहभागी गराउँदै यो छुट दिने निर्णय भएको हो।
नेपालमै उत्पादन हुने तेल र घिउ उद्योगले भने प्रति लिटर ३ रुपैयाँ मात्रै छुट दिन सहमत भएका छन्। निजी क्षेत्रका दाल, चामल उद्योग र तीनका थोक तथा खुद्रा विक्रेताले पनि दाल र चामलमा प्रति किलो ३ रुपैयाँ छुट दिने आपूर्ति मन्त्रालयले जनाएको छ। चिनी उद्योगले पनि दशै तिहारको लागि मूल्य अभिवृद्धि कर बाहेक ५७ रुपैयाँ प्रतिकेजीमा चिनी दिन सहमत भएको छ।
सहकारी उद्योगले उत्पादन गर्ने मसलामा १० रुपैयाँ छुट दिने निर्णय भएको छ।नेपाल खाद्य संस्थानले भने सानो मन्सुली चामल ४० रुपैयाँ प्रति किलोमा उपलब्ध गराउने भएको छ। जीरा मसिनो चामल ५५ रुपैयाँ, वास्मती चामल ८१ रुपैयाँ, गोरखनाथ चामल ३८ रुपैयाँ, जापानीज चामल ७० र ७५ रुपैयाँ प्रतिकिलोमा उपलब्ध गराउने निर्णय गरेको छ।
जुम्ली सिमी १२० रुपैयाँ, जुम्ली फापर ७० रुपैयाँ र खसीबोकामा मूल्य निर्धारणपछि प्रति किलो १० रुपैयाँ छुट हुनेछ।साल्ट ट्रेडिङ कर्पोरेशनले नुन प्रति किलो १८ रुपैयाँ र चिनी प्रतिकिलो मूल्य निर्धारण नगरि ५ रुपैयाँ छुट दिने निर्णय गरिएको छ।दुग्ध विकास संस्थानले घिउ प्रति किलो ८५० रुपैयाँ र पनिर प्रति किलो ६१० रुपैयाँमा विक्री गर्ने निर्णय गरेको छ।
सरकारले असोज १२ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको छ।
FACEBOOK COMMENTS