काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा पार्टीका प्रतिनिधि सभा सदस्यहरूका लागि ‘सक्षम सांसद, सशक्त संसद्’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शृङ्खलाको पहिलो चरण आजदेखि सुरू भएको छ ।
ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सुरू भएको कार्यक्रम भोलि समापन हुने छ । कार्यक्रमको औपचारिक उद्घाटन पार्टी उपसभापति एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरे ।
संसद्लाई जनताको पक्षमा थप प्रभावकारी बनाउन र सांसदहरूको कानुनी एवम् नीतिगत सिप विकास गर्न यो प्रशिक्षण कोसेढुङ्गा सावित हुने पार्टीले अपेक्षा गरेको छ ।
प्रशिक्षणको पहिलो दिन आज सदन र सरकारको अन्तरसम्बन्ध एवम् संसदीय प्रक्रियामा केन्द्रित रहने बताइएको छ । जस अन्तर्गत पार्टी, सरकार र सदनबीचको समन्वयकारी सम्बन्धका बारेमा महामन्त्री भूपदेव शाहले प्रशिक्षण दिने छन् ।
त्यसैगरी, संसदीय समितिहरूमा सांसदहरूले खेल्नुपर्ने सक्रिय भूमिकाका विषयमा संसदीय दलका उपनेता गणेश पराजुली र संसदीय अभ्यास एवम् दलीय समन्वयमा सचेतकको भूमिकाबारे सांसद निशा डाँगीले आफ्ना अनुभव र विधिहरू प्रस्तुत गर्ने छन् ।

हेर्नुहोस् तस्बिरहरू–

