काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका–७ घर भएका ४७ वर्षीय शैलेन्द्र पाण्डे, काठमाडौं महानगरपालिका–४ बस्ने टोखा नगरपालिका–९ घर भएका ३० वर्षीया सुमना अर्याल, काठमाडौं महानगरपालिका–९ बस्ने खोटाङ घर भएका ३० वर्षीय विकास सुनार, काठमाडौं महानगरपालिका–३० बस्ने नवलपरासी पूर्व घर भएका ५३ वर्षीय बासुदेव श्रेष्ठ, काठमाडौं महानगरपालिका–९ बस्ने पाँचथर घर भएका ४७ वर्षीय धन बहादुर योङहाङ र नवलपरासी पूर्व देवचुली नगरपालिका–८ घर भएकी ३३ वर्षीया नौ माया आले मगर रहेका छन् ।
पक्राउ मध्ये शैलेन्द्रले सर्विया, स्लोभाकिया लगायतका देश पठाइदिन्छु भन्दै १३ जना पीडितहरूबाट ३५ लाख ७० हजार रूपैयाँ, सुमनाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८२ हजार रूपैयाँ, विकासले स्पेन पठाइदिन्छु भन्दै १० जना पीडितहरूबाट १० लाख रूपैयाँ, बासुदेवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, धन बहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र नौ मायाले साइप्रस पठाइदिन्छु भन्दै ६ लाख ४ हजार ५ सय रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शैलेन्द्रलाई काठमाडौं नागार्जुन नगरपालिका–९ बाट बिहीबार, सुमना र बासुदेवलाई काठमाडौं महानगरपालिका–४ तथा विकासलाई काठमाडौं महानगरपालिका–७ बाट शुक्रबार, धन बहादुरलाई काठमाडौं महानगरपालिका–२६ बाट र नौ मायालाई नवलपरासी पूर्व देवचुली नगरपालिका–८ बाट पक्राउ गरेको हो ।
पक्राउ मध्ये शैलेन्द्र, सुमना, विकास, बासुदेव र धन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने नौ मायालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जानकारी दिएको छ ।