काठमाडौँ । बंगलादेशले पाकिस्तानविरुद्धको पहिलो टेस्ट जितेको छ । मंगलबार सम्पन्न खेलमा बंगलादेशले पाकिस्तानलाई १०४ रनले पराजित गरेको हो ।
मिरपुरमा २६८ रनको लक्ष्य पछ्याएको पाकिस्तान १६३ रनमा अलआउट भएपछि बंगलादेशले सिरिजको पहिलो खेलमा जित हासिल गरेको हो । योसँगै घरेलु टोलीले २ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
यस टेस्टमा बंगलादेशले पहिलो इनिंगमा ४१३ रन बनाएको थियो भने पाकिस्तानले पहिलो इनिंगमा ३८६ रन बनाएको थियो । त्यसपछि बंगलादेशले आफ्नो दोस्रो इनिंगमा ९ विकेट गुमाएर २४० रन बनाएपछि २६८ रनको लक्ष्य दिदै इनिंग घोषणा गरेको थियो ।
यो बंगलादेशले पाकिस्तानविरुद्ध आफ्नो घरेलु मैदानमा जितेको पहिलो टेस्ट हो भने पाकिस्तानविरुद्ध लगातार तेस्रो टेस्ट जितेको छ । बंगलादेशले यसअघि २०२४ मा पाकिस्तानलाई उसकै घरेलु मैदानमा लगातार दुई खेलमा हराएको थियो ।
अब दोस्रो तथा अन्तिम टेस्ट शनिबारदेखि सिलेटमा सुरु हुनेछ।
