काठमाडौँ । भारतको तमिलनाडुको प्रमुख राजनीतिक दल एआइएडिएमके भित्र विभाजन देखिएको छ । पार्टीका नेता सीभी षणमुगमले अभिनेता तथा मुख्यमन्त्री विजय नेतृत्वको टिभिके सरकारलाई समर्थन गर्ने घोषणा गरेपछि संसदको तेस्रो ठुलो दल फुटको संघारमा पुगेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार षणमुगमसँगै करिब ३० जना विधायक पनि विजयको पक्षमा उभिएका छन् । उनले जनताले दिएको जनादेश टिभिकेका लागि भएको भन्दै समर्थन गर्ने निर्णय गरिएको बताएका छन् ।
षणमुगमले द्रमुकसँग गठबन्धन गरेको भए एआईएडीएमकेको अस्तित्व नै संकटमा पर्ने दाबी गर्दै पार्टी विभाजन गर्ने उद्देश्य आफ्नो नभएको र एडप्पादी पलानीसामी नै आफ्नो नेता रहेको पनि स्पष्ट पारेका छन् ।
एआईएडीएमकेभित्रको मतभेद तमिलनाडु विधानसभा अधिवेशन सुरु भएपछि सार्वजनिक भएको बताइएको छ । पार्टीका केही नेताले नेतृत्व परिवर्तनको मागसमेत उठाएका छन् । पूर्वनेता केसी पलानीसामीले पार्टीभित्र स्पष्ट रूपमा फुट देखिएको टिप्पणी गरेका छन् ।
नयाँ दल टिभिकेले सरकार बनाए पछि राज्यपालले बुधबारसम्म विश्वासको मत लिने समय दिएको अवस्थामा एआइएडिएमके भित्रको यस फुटले मुख्यमन्त्री विजयलाई भने राहत भएको छ ।

तमिलनाडुमा सन् १९६७ पछि पहिलो पटक द्रमुक र एआईएडीएमके बाहेक तेस्रो दलको सरकार बनेको हो । विगत झन्डै ५९ वर्षदेखि राज्यको राजनीति यी दुई दल वरिपरि केन्द्रित रहँदै आएको थियो ।

विजयलाई अहिले काँग्रेस र अन्य स-साना तीन दलले समर्थन गरेका छन् ।