काठमाडौं । संविधान संशोधनको बहसपत्र तयार पार्न बनेको कार्यदलले बोलाएको बैठक जेनजी युवाहरूले उपस्थित हुन अस्वीकार गरेका छन्।
२५ जेनजी प्रतिनिधिहरूले संयुक्त वक्तव्य जारी गर्दै शुक्रबार आफूहरू उपस्थित हुन नसक्ने जानकारी गराएका हुन्।
छलफलमा बोलाउनु अघि आफ्ना ६ बुँदे माग रहेको उनीहरूको भनाइ छ।
‘विभिन्न कारणहरूले गर्दा जेठ १ मा आमन्त्रण गरिएको छलफलमा हामी सहभागी हुन नसक्ने व्यहारा जानकारी गराउँदछौं,’ वक्तव्यमा भनिएको छ, ‘यस्ता किसिमका छलफलमा पुन: आमन्त्रण गर्नुअघि हाम्रा ६ बुँदे मागहरू पूरा गर्न नेपाल सरकारसमक्ष जोडदार अपील गर्दछौं।’
उनीहरूले मंसिर २४ गते भएको जेनजी आन्दोलनको सम्झौता अक्षरश कार्यान्वयन गर्न गरेका छन्। भदौ २३ र २४ गतेको आन्दोलनमा सहभागी भएकै कारण झुठ्ठा मुद्दा लगाएर पक्राउ परेका, जेल चलान भएका, मुद्दा चलेका आन्दोलनकारीहरूको तत्काल रिहाइ र मुद्दा फिर्ता गर्न माग गरेका छन्। शहीद परिवार र घाइतेहरूले न्याय पाउनुपर्ने उल्लेख गरेका छन्।

जेनजी अभियन्ताले पुन आमन्त्रण गर्नुअघि ६ बुँदे माग पूरा गर्नुपर्ने बताएका छन् । ती माग यस्ता छन्ः

१. मिति २०८२ मङ्सिर २४ मा भएको जेन–जी जनआन्दोलनको सम्झौता अक्षरशः कार्यान्वयन ।

२. भदौ २३, २४ को आन्दोलनमा सहभागी भएकै कारण झुट्टा मुद्दा लगाई पक्राउ परेका, जेल चलान भएका, मुद्दा चलेका आन्दोलनकारीको तत्काल रिहाइ र मुद्दा फिर्ता ।
३. शहीद परिवार र घाइते साथीहरूलाई न्याय ।
४. वि.सं. २०८२ सालको जेन–जी आन्दोलन लगायत विभिन्न राजनीतिक सामाजिक आन्दोलन (२०४६ सालको पहिलो जनआन्दोलन, २०६२÷६३ सालको दोस्रो जनआन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलन) लगायतका आन्दोलनहरूको जाँचबुझ र छानबिन आयोगका प्रतिवेदन सार्वजनिक र कार्यान्वयन ।
५. भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासी लगायतका नेपाली नागरिकमाथि राज्यले गरिरहेको मानवअधिकार उल्लङ्घन तथा दमनका कार्यमा तत्काल रोक तथा न्यायोचित व्यवस्थापन ।
६. संविधान संशोधन गर्नका लागि जेन–जी जनआन्दोलनको सम्झौताको धारा ५ बमोजिम संविधान संशोधन सुझाव आयोग गठन गरी संशोधन योग्य विषय ग्रहण गर्नका लागि यसै आयोगले स्थानीय, प्रदेश र सङ्घीय तहमा व्यापक बहस, संवाद, अन्तरक्रिया गरी महिला, दलित, मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिम, पिछडिएको वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक रूपमा विविध पहिचान भएका समुदाय, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपमा विपन्न खस आर्य, सशस्त्र द्वन्द्व पीडित लगायतका सरोकारवाला समुदाय एवम् आम नेपाली नागरिकसँग परामर्श सञ्चालन गरेर मात्रै विषय निर्धारण गरी संशोधनको प्रक्रिया अगाडि बढाउने ।