काठमाडौं । विश्वभरका सरकार र संस्थाहरू डिजिटल रूपान्तरण र ई-गभर्नेन्स प्रणालीतर्फ अघि बढिरहेका बेला नेपालमा पनि डिजिटल सुशासन र प्रविधि एकीकरणको प्रयास तीव्र पारिएको छ।
यसै सन्दर्भमा, द्रुत गतिमा विकास भइरहेको डिजिटल युगमा युवा नेतृत्व र संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ भक्तपुरको सानोठिमीमा दुई दिने विशेष कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।
राष्ट्रिय जनसङ्ख्या तथा सहभागितामूलक विकास फाउन्डेसन (NFPPD) र राष्ट्रिय युवा परिषद् (NYC) को संयुक्त आयोजनामा “राष्ट्रिय युवा परिषद्का कर्मचारीहरूका लागि डिजिटल साक्षरता, एआई र प्रविधिमैत्री शासन विकास” विषयक कार्यशाला जेठ ३ र ४ गते सञ्चालन गरिएको थियो।
उक्त कार्यक्रमलाई ‘फाउन्डेसन फर द फ्युचर’ (FFTF) ले प्राविधिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (UNFPA) ले आर्थिक र प्राविधिक सहयोग प्रदान गरेका थिए।
राष्ट्रिय युवा परिषद् (NYC) का प्रशासकीय प्रमुख गेहनाथ गौतमको नेतृत्व र समन्वयमा सम्पन्न कार्यशालामा परिषद्का कर्मचारीहरू, युवा सञ्जालका सदस्यहरू र युवा अभियन्तासहित जम्मा ४१ जनाको उपस्थिति रहेको थियो।

सहभागीहरूलाई डिजिटल सुशासन, साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल सञ्चार, अनलाइन सुरक्षा र जिम्मेवार डिजिटल नेतृत्व अभ्यासहरू बारेको बुझाइलाई बलियो बनाउनु कार्यक्रमको मुख्य उद्देश्य थियो।

कार्यशालामा सूचना प्रविधि, साइबर सुरक्षा, शिक्षा, कानुनी र सञ्चार क्षेत्रका प्रतिष्ठित विज्ञहरूद्वारा आठवटा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएका थिए।

कार्यशालामा प्रविधि-सहयोगमा आधारित लैङ्गिक हिंसा (TFGBV), डिजिटल हानि र सुरक्षित अनलाइन स्थानहरू सम्बन्धी विशेष सत्र संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (UNFPA) का टोली सदस्यहरू अभिराम राय र जी सुङ पार्कले सहजीकरण गर्नुभएको थियो।
उक्त सत्रमा अनलाइन उत्पीडन, उजुरी गर्ने संयन्त्र, नेपालमा लैङ्गिक डिजिटल खाडल, सीमान्तकृत समुदायले सामना गर्ने जोखिम र सुरक्षित एवं समावेशी डिजिटल ठाउँहरू सिर्जना गर्न संस्थागत भूमिकाका बारेमा गहन छलफल भएको थियो।
कार्यशालाको मुख्य आकर्षणको रूपमा अन्तिम दिन “NYC डिजिटल साक्षरता मार्गचित्र र संस्थागतकरण योजना” सम्बन्धी अभ्यास गरिएको थियो। जसमा सहभागीहरूले समूहमा कार्य गर्दै राष्ट्रिय युवा परिषद्को दीर्घकालीन डिजिटल प्रणाली र अभ्यासहरूलाई सुदृढ पार्न प्राथमिकताहरू, चुनौतीहरू र कार्ययोग्य रणनीतिहरू पहिचान गरेका थिए। यस मार्गचित्रले परिषद्लाई प्रादेशिक तथा राष्ट्रिय दुवै स्तरमा डिजिटल संस्थागतकरण र व्यावहारिक कदमका साथ अघि बढ्न सहयोग पुर्याउने लक्ष्य राखेको छ।
कार्यशालाको समापनका अवसरमा सहभागीहरूले यो सिकाइलाई समयसान्दर्भिक र अत्यन्तै बहुमूल्य भन्दै भविष्यमा एआई, साइबर सुरक्षा र डिजिटल सुशासनका क्षेत्रमा अझ उन्नत (Advanced) र गहन कार्यशालाहरूको माग गरेका छन्।
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै आयोजक र सहभागीहरूले नेपालभरका युवा संस्थाहरू र समुदायहरूमा डिजिटल साक्षरता, एआई तत्परता र जिम्मेवार डिजिटल नेतृत्वलाई निरन्तर प्रवद्र्धन गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।