काठमाडौं । एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको छ ।
यी अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डले कम्पनीको सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्ने तथा वातावरणीय प्रभावलाई न्यूनतम राख्ने प्रतिबद्धतालाई उजागर गरेको छ ।
आईएसओ ९००१ गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम)को विश्वव्यापी मानक हो । यसले ग्राहकका आवश्यकता तथा नियामक निकायका प्रावधान पूरा गर्न व्यावसायिक प्रतिष्ठानले आवश्यक प्रक्रियाहरू अपनाउने गरेको सुनिश्चित गर्दछ ।
त्यसैगरी, आईएसओ १४००१ ले वातावरणीय व्यवस्थापन प्रणाली (एन्भाइरमेन्टल म्यानेजमेन्ट सिस्टम)को मापदण्ड निर्धारण गर्दछ, जसले संघसंस्था तथा व्यवसायहरूलाई उनीहरूको वातावरण प्रतिको जिम्मेवारी, फोहर मैला व्यवस्थापन र विद्यमान कानुन तथा नियमहरू प्रभावकारी रूपमा पालना गर्न मार्गदर्शन गर्दछ ।
“आईएसओ २७००१:२०२२ (आईएसएमएस) र आईएसओ २७७०१:२०१९ (पीआईएमएस) डाटा सुरक्षा तथा गोपनीयताका मान्यता प्राप्त गरेपछि अब आईएसओ ९००१ र आईएसओ १४००१ को मान्यता पाउनु हामीले प्रदान गर्ने सेवाको गुणस्तर प्रति हाम्रो प्रतिबद्धताको प्रमाण हो,” एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, “बिजनेस टु कन्ज्युमर (बीटुसी), बिजनेस टु बिजनेस (बीटुबी) वा बिजनेस टु गभरमेन्ट (बीटुजी) जुनसुकै सेवा भए पनि यी मान्यताहरूले हाम्रो व्यवसाय विश्वव्यापी रूपमा मान्य मापदण्डअनुसार बलियो रूपमा सञ्चालित छ भन्ने कुरा गरेको छ ।”

एनसेलले २०८१ पुसमा आईएसओ २७००१:२०२२ (आईएसएमएस) र आईएसओ २७७०१:२०१९ (पीआईएमएस)को मान्यता प्राप्त गरेको थियो । उक्त प्रमाणीकरण यो वर्ष पनि नवीकरण गरिएको छ । यस्तो प्रमाणीकरण प्राप्त गर्ने एनसेल नेपालको पहिलो दूरसञ्चार सेवा प्रदायक हो ।

यी दुई प्रमाणीकरणले नेपालको द्रुत गतिमा विकास भइरहेको डिजिटल परिदृश्यमा कम्पनीको उत्कृष्ट सञ्चालन र दिगोपनप्रति एनसेलले ध्यान केन्द्रित गरेको उल्लेख छ । ग्राहकहरूका लागि यसको अर्थ थप भरपर्दो नेटवर्क पर्फर्मेन्स, अझ उत्तम सेवा गुणस्तर र वातावरणीय रूपमा जिम्मेवार सञ्चालन सुनिश्चितता हो ।

त्यस्तै, उद्यमी तथा व्यवसायहरूले दक्षता वृद्धि, जोखिम न्यूनीकरण र बढी प्रतिस्पर्धात्मक क्षमता प्राप्त गर्दछन् ।
साझेदार, नियामक निकाय तथा लगानीकर्ताहरूले एनसेलको जवाफदेहिता, कम्प्लायन्स र निरन्तर सुधारप्रतिको प्रतिबद्धताबाट आत्मविश्वास प्राप्त गर्न सक्नेछन् ।यी प्रमाणीकरणको सदुपयोग गर्दै विश्वस्तरीय डिजिटल सेवाहरू उपलब्ध गराउन र पर्यावरणीय संरक्षणलाई पनि प्रवद्र्धन गर्न कम्पनी प्रतिबद्ध रहेको छ ।