काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आगामी भारत भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।
सत्तारूढ दलका सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको औपचारिक निमन्त्रणामा तीन दिने भारत भ्रमणमा जान लागेका हुन् ।
भ्रमण टोलीमा स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा, लामिछानेकी पत्नी निकिता पौडेल र स्वकीय सचिव अविनाश आचार्य समेत सहभागी हुने बताइएको छ । भारतीय पक्षले रवि लामिछानेलाई नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा स्वागत गर्ने कार्यक्रम तय गरेको छ ।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जय शङ्करलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता हुने बताइएको छ ।
रवि लामिछानेको आगामी जेठ १८ गते भारत प्रस्थान हुने र जेठ २० गते स्वदेश फर्कने कार्यतालिका बनेको छ । नेपालमा नयाँ सरकार गठन भएपछि भारत भ्रमणमा जान लागेको यो सबैभन्दा उच्च तहको राजनीतिक भ्रमणका हो ।

प्रधानमन्त्री बालेन्द्र साहले नयाँ दिल्लीसँग दूरी कायम गरिरहेका बेला, भारतले रवि लामिछानेलाई औपचारिक रूपमा आमन्त्रण गर्नुलाई अर्थपूर्ण मानिएको छ । रवि लामिछानेको भारत भ्रमणलाई सामान्य शिष्टाचार भ्रमणभन्दा पनि नेपालको वर्तमान सत्ता समीकरण, विदेश नीति र नेपाल भारत सम्बन्धसँग जोडेर हेरिएको छ ।

प्रधानमन्त्रीले भारतीय पक्षसँग प्रत्यक्ष ‘इन्गेजमेन्ट’मा खासै रुचि देखाएका छैनन् । भारतीय राजदूतसँग एक्लै भेट गर्न अस्वीकार गरेको घटनाले पनि दिल्लीलाई असहज बनाएको छ । सरकार गठन भएको दुई महिना बितिसक्दा पनि प्रधानमन्त्री स्तरको प्रत्यक्ष भ्रमण वा उच्चस्तरीय भेटघाट नभएकाले भारतले सत्तारूढ दलको दृष्टिकोण बुझ्न रास्वपाको नेतृत्वसँग प्रत्यक्ष संवाद गर्न खोजेको कूटनीतिका जानकारहरूको बुझाइ छ ।

पछिल्लो समय रवि लामिछानेले अदालतका मुद्दाहरूबाट पाएको सफाइले पनि नयाँ राजनीतिक बहस जन्माइरहेको छ । विपक्षी दलहरूले त्यसलाई सत्ता र प्रभावसँग जोडेर व्याख्या गर्न थालेका छन् । कानुनी रूपमा सफाइ पाए र पार्टीभित्र असहजता उत्पन्न भए रवि लामिछाने नै प्रधानमन्त्रीका दाबेदार हुने छन् । यस्ता राजनीतिक बहसकैबीच हुन लागेको भारत भ्रमणलाई सामान्य भन्दा पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।
नेपाल भारत सम्बन्ध सधैं संवेदनशील विषयका रूपमा रहने गरेको छ । त्यसैले पनि नेपाली नेताको दिल्ली भ्रमणलाई आन्तरिक शक्ति सन्तुलनसँग जोडेर हेर्ने परम्परा पुरानै छ । तत्कालीन नेकपा सरकारको समयमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतको सम्बन्धमा तिक्तता पलाएको थियो ।
त्यो समयमा भारतले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भ्रमणमा बोलाएको थियो । प्रधानमन्त्री र नेकपाको पहिलो बरीयताको अध्यक्ष आफू हुँदाहुँदै भारतले दोस्रो बरियताका प्रचण्डलाई भ्रमणमा बोलाएको भन्दै ओली चिढिएका थिए । तत्कालीन नेकपा विभाजनको एउटा कारण यसलाई पनि जानकारहरूले मान्ने गरेका छन् ।
२०६४ सालको निर्वाचनपछि प्रचण्ड ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका थिए । तर, उनले नौ महिना मै राजीनामा दिने अवस्था आयो । पछि फेरि माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पायो । तर, त्यो समयमा भारतले बाबुराम भट्टराईलाई अगाडि सारेको चर्चा राजनीतिक वृत्तमा अहिले पनि हुने गरेको छ । त्यसबाहेक पनि नेपालको आन्तरिक राजनीतिमा भारतको प्रभावले सत्ता समीकरण बन्ने र भत्केका उदाहरणहरू थुप्रै छन् । त्यसैले यस पटक पनि रवि लामिछानेको भ्रमणले सत्ता समीकरण र पार्टीभित्रको शक्ति सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।
हालसम्म प्रधानमन्त्री साह र सभापति लामिछानेबीचको सम्बन्धमा सार्वजनिक रूपमा कुनै असहजता देखिएको छैन । सरकार सञ्चालनका क्रममा प्रधानमन्त्रीले लामिछानेलाई पर्याप्त राजनीतिक स्पेस दिएको तथा विदेशी प्रतिनिधिसँगको संवादमा समेत उनलाई अगाडि सारेको देखिएको छ ।
केही समयअघि नेपाल आएका अमेरिकी उच्च अधिकारीहरूले पनि लामिछानेसँग छुट्टै भेटवार्ता गरेका थिए । विदेशी कूटनीतिज्ञ र अधिकारीहरूलाई भेट नदिएका बालेन साहले उनीहरूलाई सभापति रवि लामिछानेसङै कुराकानी गर्न सुझाव दिँदै आएका छन् । त्यसैले अहिले सभापतिको हैसियतमा हुन लागेको भारत भ्रमणलाई पनि बालेन पक्षले सकारात्मक रूपमा लिएको देखिएको छ ।
रवि लामिछानेको स्वभाव आक्रामक हो । फागुन २१ गतेको निर्वाचनसम्म रवि लामिछानेले तिखो भाषण गर्ने गरेका थिए । तर, निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेपछि भने लामिछानेको शैली संयमित र परिपक्व देखिएको छ । उनले आन्तरिक तथा बाह्य शक्तिसँग सन्तुलित सम्बन्ध राख्न खोजेको देखिएको छ ।
केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन संवादमा पनि लामिछानेले विकास कूटनीतिलाई प्राथमिकता दिने धारणा राखेका थिए । त्यसले नेपाल भारत सम्बन्धलाई विवादभन्दा आर्थिक सहकार्य, पूर्वाधार विकास, व्यापार, ऊर्जा र कनेक्टिभिटीमा केन्द्रित गरेर अघि बढाउने खोजेको जानकारहरूको बुझाई छ ।
खुला सीमाको व्यवस्थापन, व्यापार असन्तुलन न्यूनीकरण, ऊर्जा निर्यात, जलस्रोतको साझा उपयोग तथा श्रम सहकार्यलाई रवि लामिछानेले प्राथमिकतामा राख्ने बुझिएको छ । भारतले प्राय जसो नेपालका शक्तिशाली नेताबाट सुरक्षा, सीमाना, चीनसँगको सम्बन्ध तथा क्षेत्रीय रणनीतिजस्ता विषयमा स्पष्ट धारणा खोज्ने गरेको देखिन्छ ।
यदि सभापति लामिछाने अत्यधिक भारतनिकट देखिए नेपालभित्र उनको आलोचना बढ्न सक्छ भने भारतले दूरी कायम राख्न सक्छ । त्यसैले यो भ्रमणमा उनको सबैभन्दा ठूलो परीक्षा सन्तुलन कायम राख्नमा हुने जानकारहरूको बुझाइ छ ।