काठमाडौँ । सेन्टर फर डिप्लोमेसी एन्ड डेभलपमेन्ट ९सीडीडी० को लोगो विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्म पुर्याउने पर्वतारोही पूर्वा तेन्जिङ शेर्पालाई सम्मान गरिएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सीडीडीले पूर्वा तेन्जिङ शेर्पाको योगदानको प्रशंसा गर्दै विशेष सम्मान गरेको हो । फुर्बाले २० मे २०२६ मा १८ औँ पटक सगरमाथा आरोहण गर्ने क्रममा संस्थाको लोगो पनि चुचुरो सम्म पुर्याएका थिए ।
फ्रान्सका लागि नेपालका पूर्व राजदूत समेत रहेका सेन्टर फर डिप्लोमेसी एन्ड डेभलपमेन्टका संस्थापक अध्यक्ष मोहनकृष्ण श्रेष्ठले संस्थाको लोगो विश्वको सर्वोच्च बिन्दुसम्म पुग्नु सम्पूर्ण संस्थाको लागि गर्वको विषय भएको बताए ।
उनले पूर्वा तेन्जिङ शेर्पाले १८ औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडेको उल्लेख गर्दै यो उपलब्धि सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको बताए । “सगरमाथा नेपालको पहिचान हो । त्यही सगरमाथाको चुचुरोमा हाम्रो संस्थाको लोगो पुग्नुले हामीलाई थप ऊर्जा र उत्साह प्रदान गरेको छ,” उनले भने ।
मोहनकृष्ण श्रेष्ठले नेपाल विश्वमै दुर्लभ भौगोलिक विविधता भएको देश रहेको पनि बताए । “झापाको केचना केवल समुद्री सतहबाट करिब ५५ मिटर उचाइमा छ भने विश्वकै सर्वोच्च शिखर सगरमाथा ८ हजार ८ सय ४८ मिटर उचाइमा अवस्थित छ ।
यति छोटो दूरीभित्र यस्तो भौगोलिक विविधता संसारका थोरै देशमा मात्र पाइन्छ,” उनले भने । कार्यक्रममा सगरमाथा आरोही राज गुरुङ र तेन्जिङ जाङ्बु शेर्पाको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित वक्ताहरूले सगरमाथा आरोहण मार्फत नेपाललाई विश्वभर चिनाउन योगदान पुर्याउने सम्पूर्ण पर्वतारोहीहरूको प्रशंसा गरेका थिए । सीडीडीले पूर्वा तेन्जिङ शेर्पाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गरेको जनाएको छ ।

सीडीडीले स्थापनाको समय देखि कूटनीति, आर्थिक कूटनीति, विज्ञान तथा प्रविधि, मानव अधिकार, महिला सशक्तीकरण तथा विकाससँग सम्बन्धित विषयमा छलफल, अन्तरक्रिया र नीतिगत बहस सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रम मार्फत सरकारलाई सुझाव दिने तथा राष्ट्रिय महत्वका विषयमा बौद्धिक विमर्शलाई प्रोत्साहन गर्ने काम संस्थाले गरिरहेको छ ।