काठमाडौं । पण्डित नबराज शारदा स्मृति समाजले पण्डित नबराज पौडेलको १०७औँ जन्मजयन्तीको अवसरमा तीन जना छात्रालाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ।
जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा समाजले शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले छात्रवृत्ति वितरण गरेको हो। कार्यक्रममा समाजका अध्यक्ष निर्मलराज पौडेलले पण्डित नबराज पौडेलको स्मृतिलाई जीवन्त राख्दै हरेक वर्ष सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदानमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
उहाँले समाजले शिक्षा, संस्कार र सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।
कार्यक्रममा योगी नरहरिनाथ आध्यात्मिक परिषद्का अध्यक्ष शंकरराज पौडेलले समाजले गर्दै आएका सामाजिक तथा शैक्षिक गतिविधिको प्रशंसा गर्दै यस्ता अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरे ।
समाजका अनुसार संस्थाले संस्कृत, कर्मकाण्ड, सामाजिक संस्कार तथा नेपाली संस्कृति संरक्षण र प्रवद्र्धनका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। छात्रवृत्ति वितरण कार्यक्रम पनि शिक्षा प्रवद्र्धन र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको समाजले जनाएको छ।
