काठमाडौं । मेटलाइफ नेपालले कास्की जिल्लाका सामुदायिक विद्यालयहरूमा खेलकुद तथा शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यले फुटबल सामग्री वितरण कार्यक्रम सुरु गरेको छ।
“शिक्षा र खेलकुदमार्फत नयाँ पुस्तालाई सशक्त बनाउने” लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रम कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा अघि बढाइएको हो।
कार्यक्रमअन्तर्गत कास्कीका पाँच सामुदायिक विद्यालयमा करिब १६० वटा फुटबलसहित प्रशिक्षणका लागि आवश्यक कोन, गोलपोस्ट नेट, एयर पम्प तथा अन्य खेल सामग्री उपलब्ध गराइनेछ। साथै छनोट भएका विद्यार्थीहरूलाई जर्सीसमेत वितरण गरिने जनाइएको छ।
मेटलाइफ नेपालका अनुसार यस पहलले शहरी तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई खेलकुदमा सहभागी हुने अवसर प्रदान गर्नुका साथै विद्यालयस्तरमा नियमित खेल गतिविधि प्रवद्र्धन गर्न सहयोग पुर्याउनेछ। विद्यालयमा खेलकुद संस्कृतिको विकाससँगै विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
यो कार्यक्रम मेटलाइफ नेपालको शिक्षा केन्द्रित संस्थागत सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत सञ्चालन गरिएको हो। मेटलाइफ र कर्मयोग फाउन्डेसनले संयुक्त रूपमा बालबालिकामा टोली भावना, निष्पक्षता, धैर्यता, नेतृत्व क्षमता तथा आपसी सम्मानजस्ता जीवनोपयोगी सीप विकास गर्ने वातावरण सिर्जना गर्ने लक्ष्य लिएका छन्।

कार्यक्रमबारे बोल्दै मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले खेलकुदले विशेषगरी अवसरबाट वञ्चित समुदायका बालबालिकालाई एकताबद्ध गर्ने महत्वपूर्ण माध्यम रहेको बताए।

“विश्वभर फुटबलप्रतिको आकर्षण बढ्दै गएको छ। हामीले फुटबलमार्फत विद्यार्थीहरूमा आत्मविश्वास, सिकाइप्रतिको रुचि तथा चुनौती सामना गर्ने क्षमता विकास गर्न विद्यालयहरूलाई सहयोग गर्ने निर्णय गरेका हौं,” उनले भने।

मेटलाइफ नेपालले आगामी दिनमा पनि शिक्षा, खेलकुद तथा युवा सशक्तीकरणसँग सम्बन्धित सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। कम्पनीका अनुसार यस्ता पहलले विद्यालयस्तरमा खेलकुदको पहुँच विस्तार गर्नुका साथै समग्र समुदायको विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।