नेपालको खेलकुद इतिहासमै वातावरण र खेलकुदलाई एकीकृत गरी विभिन्न खेल संघहरू एकै मञ्चमा उभिएर सामूहिक पहल गरेको यो पहिलो अवसर भएको आयोजकले जनाएको छ।
छलफलमा अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपाल, नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसन, नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ एसोसिएसन, नेपाल बेसबल एन्ड सफ्टबल संघ, नेपाल हक्की संघ, इ–स्पोर्ट्स एसोसिएसन नेपाल तथा नेपाल अटोमोबाइल्स एसोसिएसनका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी थिए।
साथै नेपाल एड्भेन्चर रनिङ फेडेरेसन, नेपाल र्याफ्टिङ एन्ड कनोइङ एसोसिएसन, नेपाल ह्यान्डबल संघ र नेपाल कुस्ती संघले पनि अभियानमा समर्थन जनाएका छन्।
बैठकले ‘क्लिन, ग्रीन तथा सस्टेनेबल स्पोर्ट्स’ अभियानलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने, अन्तर्राष्ट्रिय खेल महासंघहरूको जलवायु तथा वातावरणसम्बन्धी मापदण्ड पालना गर्ने, सरकार तथा विकास साझेदारहरूसँग सहकार्य बढाउने, खेलकुदमार्फत जनचेतना अभिवृद्धि गर्ने तथा हरित खेलकुदसम्बन्धी नीति, अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ।
अभियानको समन्वय तथा सचिवालयको जिम्मेवारी अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपाललाई दिइएको छ। सहभागी संघहरूले निकट भविष्यमै आफ्ना वातावरणमैत्री प्रतिबद्धता तथा कार्ययोजना सार्वजनिक गर्ने जनाएका छन्।

छलफलमा खेलकुद क्षेत्रले वातावरण संरक्षण, दिगो विकास, दिगो पर्यटन प्रवर्द्धन तथा जिम्मेवार समाज निर्माणमा खेल्न सक्ने भूमिकाबारे समेत व्यापक विमर्श भएको थियो।
