काठमाडौं । जीवन बीमा क्षेत्रमा क्रियाशील आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय विश्वसनीयता र संस्थागत सुदृढतामा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको जारीकर्ता रेटिङ (जारीकर्ता मूल्याङ्कन) लाई केयर–एनपी बीबीबी+ बाट स्तरोन्नति गर्दै केयर–एनपी ए– प्रदान गरेको हो।
नयाँ रेटिङले कम्पनीको सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली, सन्तुलित व्यावसायिक कार्यसम्पादन, सुशासनप्रतिको प्रतिबद्धता तथा बीमित र अन्य सरोकारवालामाझ बढ्दो विश्वासलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ।
केयर–एनपी ए– रेटिङले कम्पनीले आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न पर्याप्त क्षमता राखेको तथा अघिल्लो अवस्थाको तुलनामा अझ मजबुत र विश्वसनीय संस्थाका रूपमा स्थापित भएको संकेत गर्दछ।
रेटिङ स्तरोन्नतिप्रति खुसी व्यक्त गर्दै कम्पनी व्यवस्थापनले यसलाई ग्राहक, अभिकर्ता, लगानीकर्ता तथा अन्य सरोकारवालाबाट प्राप्त निरन्तर विश्वास र सहयोगको परिणामका रूपमा लिएको जनाएको छ। साथै आगामी दिनमा पनि ग्राहक सेवा, नवप्रवर्तन, वित्तीय सुदृढता र संस्थागत उत्कृष्टतालाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

“भविष्य सुनिश्चित गर्ने” मूल नारासहित स्थापना भएको आईएमई लाइफ इन्स्योरेन्स नेपालका अग्रणी जीवन बीमा कम्पनीमध्ये एक हो। कम्पनीले जीवन बीमामार्फत व्यक्तिहरू र परिवारको आर्थिक सुरक्षा तथा दीर्घकालीन बचतलाई प्रवर्द्धन गर्ने विभिन्न बीमा योजनाहरू सञ्चालन गर्दै आएको छ।

देशभर फैलिएको शाखा तथा उपशाखा सञ्जाल र हजारौं अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले जीवन बीमाको पहुँच ग्रामीण तथा शहरी समुदायसम्म विस्तार गरेको छ। ग्राहक केन्द्रित सेवा, डिजिटल प्रविधिको प्रभावकारी प्रयोग तथा नवीन बीमा समाधानमार्फत कम्पनीले नेपाली बीमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको जनाएको छ।

व्यावसायिक गतिविधिसँगै आईएमई लाइफले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता, सामुदायिक विकास तथा सामाजिक उत्थानका विभिन्न सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कम्पनीले सामाजिक रूपान्तरण र सकारात्मक परिवर्तनका लागि विभिन्न अभियानमा सक्रिय सहभागिता जनाउँदै आएको छ।
कम्पनीका अनुसार यो रेटिङ स्तरोन्नति केवल संस्थागत उपलब्धि मात्र नभई उत्कृष्ट सेवा, उच्च व्यावसायिक मापदण्ड र वित्तीय सुदृढतालाई अझ सशक्त बनाउने प्रेरणासमेत हो। कम्पनीले आगामी दिनमा पनि बीमितहरूको भविष्य सुरक्षित गर्दै नेपालको बीमा क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।