काठमाडौं । नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष मनोहर दास मुल निर्विरोध निर्वाचित भएका छन् ।
संघको सोमबार सम्पन्न नवौं र दशौं वार्षिक साधारण सभाबाट उनी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । यसअघि उनले संघमा उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए । अध्यक्ष पदको कार्यकाल आगामी २ वर्षको हुनेछ ।
त्यसैगरी उपाध्यक्षमा आजाद श्रेष्ठ (अध्यक्ष, युनाइटेड अजोड इन्स्योरेन्स), महासचिवमा महेन्द्रकृष्ण श्रेष्ठ (अध्यक्ष, हिमालयन एभरेष्ट इन्स्योरेन्स) र कोषाध्यक्षमा रमेश कुमार निरौला (अध्यक्ष, नेको इन्स्योरेन्स) चयन भएका छन् । सदस्यहरूमा कुनाल कयाल (अध्यक्ष, सानिमा जिआईसी इन्स्योरेन्स) र पवन अग्रवाल (सञ्चालक, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) नियुक्त भएका छन् ।
सभाले निवर्तमान अध्यक्ष राजेन्द्र मल्लको योगदानको कदर गर्दै उनलाई कार्यसमितिमा आमन्त्रण गर्ने निर्णय समेत गरेको छ ।
निर्जीवन बीमा क्षेत्रमा दुई दशक लामो अनुभव हासिल गरेका मुल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण स्वर्णपदकधारी (गोल्ड मेडलिस्ट) हुन् ।

बीमा क्षेत्रसँगै विभिन्न उद्योग तथा व्यावसायिक गतिविधिमार्फत उनले देशको आर्थिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । हाल उनी नेपाल कागज व्यवसायी संघका अध्यक्ष तथा नेपाल च्याम्बर अफ कमर्शका कार्यकारी सदस्य र नेपाल टेनिस संघका अध्यक्ष समेत रहेका छन् ।

साथै, उनी २०७९ साल फागुन २९ गतेदेखि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षका रूपमा कार्यरत छन् ।