काठमाडौं । विद्युत् नियमन आयोगका पूर्व–अध्यक्ष दिल्लीबहादुर सिंह यस वर्षको ‘ऊर्जा ज्योति सम्मान’ बाट सम्मानित भएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २४औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनको उद्घाटन समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ ले सम्मानपत्रसहित दोसल्ला ओढाएर सिंहलाई सम्मान प्रदान गरेका हुन्।
सिंहले विभिन्न सरकारी निकायमा रही झण्डै ४५ वर्ष ऊर्जा क्षेत्रमा योगदान दिएका छन्। उनले ३८ वर्ष निरन्तर सरकारी सेवामा रही विद्युत् विकास विभागको महानिर्देशकसम्मको जिम्मेवारी सम्हालेका थिए। निजामती सेवाबाट अवकाशपछि पनि उनी विद्युत् नियमन आयोगको अध्यक्षमा नियुक्त भई पाँच वर्षे कार्यकाल पूरा गरेका थिए।
ऊर्जा क्षेत्रको विकास, नियमन तथा नीतिगत सुधारमा पुर्याएको दीर्घकालीन योगदानको कदर गर्दै सिंहलाई ‘ऊर्जा ज्योति सम्मान’ प्रदान गरिएको इपानले जनाएको छ।

इपानका पूर्व–अध्यक्ष तथा ऊर्जा उद्यमी शैलेन्द्र गुरागाईं की छोरी श्रीनिका गुरागाईं को स्मृतिमा स्थापना गरिएको उक्त वार्षिक सम्मानको राशि नगद १ लाख रुपैयाँ रहेको छ।
