काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ ले दार्चुलास्थित अपि हिमाल बेस क्याम्पमा क्रिकेट खेलिरहेको आकर्षक दृश्य सार्वजनिक गरेका छन् ।
आज शनिबार उनले आफ्नो फेसबुक पेजमार्फत उक्त दृश्य सार्वजनिक गरेका हुन् ।
सार्वजनिक सो दृश्यमा अपि हिमाल बेस क्याम्पको मनोरम उच्च हिमाली वातावरणमा क्रिकेट खेल्दै गरेको मनोरम दृश्य देख्न सकिन्छ । उक्त दृश्य हिमालय भट्टले खिचेका हुन्, जसलाई प्रधानमन्त्री बालेनले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका हुन् ।
अपि हिमाल बेस क्याम्प सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित चर्चित पर्यटकीय गन्तव्य हो । सुदूरपश्चिमकै सबैभन्दा अग्लो हिमालका रूपमा परिचित अपि हिमाल को उचाइ ७ हजार १३२ मिटर रहेको छ । यो हिमाल दार्चुलाको अपि हिमाल गाउँपालिका भित्र पर्दछ ।
अपि नाम्पा संरक्षण क्षेत्रभित्र अपि हिमालसँगै ६ हजार ७५७ मिटर अग्लो नाम्पा हिमाल, ६ हजार ८५० मिटर उचाइको कापाचुली हिमाल, जेठबुहारी र व्यास हिमाललगायतका हिमशृङ्खला रहेका छन् ।

संरक्षण क्षेत्रमा हिउँचितुवा, रेड पान्डा, नाउर, घोरल, कालो भालुलगायत दुर्लभ वन्यजन्तु तथा डाँफे, मुनाल, चिर, चिललगायत दुई सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी पाइने भएकाले यो क्षेत्र प्रकृति तथा साहसिक पर्यटनका लागि विशेष आकर्षणको केन्द्र मानिन्छ ।

बालेनले सार्वजनिक गरेको दृश्यले अपि हिमाल क्षेत्रको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई थप उजागर गरेको छ ।

प्रधानमन्त्री साहले सो दृश्य सार्वजनिक गरेपछि अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले आफ्नो पालिकाभित्रको मनमोहक दृश्यलाई महत्व दिएकोमा धन्यवाद ज्ञापन गरे । ‘प्रधानमन्त्री बालेनज्यूको आधिकारिक टिकटक एकाउन्ट र फेसबुक पेजमार्फत अपि हिमाल बेसक्याम्पको क्रिकेट खेल्दै गरेको भिडिओ सार्वजनिक भएको छ । यो भिडिओ रिल फोटोग्राफर तथा कन्टेन्ट क्रियटर हिमालय भट्टज्यूले खिच्नु भएको हो,’ उनले भनेका छन्, ‘अपि हिमालको पर्यटन प्रवर्द्धनको लागि हार्दिक धन्यवाद !!