काठमाडौं । नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी प्रेमसिंह बस्न्यात ले नारायणहिटी दरबार हत्याकाण्डमा पूर्वराजा ज्ञानेन्द्र शाह लाई जोडेर घटनालाई विषयान्तर गर्न खोजिएको दाबी गरेका छन् ।
एक अन्तर्वार्ताका क्रममा बस्न्यातले घटना भएको समयमा ज्ञानेन्द्र शाह घटनास्थलमा नभई पोखरामा रहेको उल्लेख गर्दै उनीमाथि लगाइने आरोप तथ्यमा आधारित नभएको बताए ।
‘त्यस बेला राजा ज्ञानेन्द्र त राजा वीरेन्द्रकै आदेशमा पोखरामा विदेशी पाहुनालाई लिएर जानुभएको थियो । जो व्यक्ति घटनास्थलमै छैन, उसले कसरी हत्या गर्न सक्छ ?’ बस्न्यातले भने ।
ज्ञानेन्द्र शाहको परिवार मात्र जीवित रहेकाले उनीमाथि शङ्का गर्नेहरू रहेको प्रश्नमा बस्न्यातले अनुसन्धानबाट प्रमाणित भए जोसुकैलाई पनि कारबाही हुनुपर्ने धारणा राखे ।
‘यदि अनुसन्धानले प्रमाणित गर्यो भने उहाँलाई कारबाही गर्नुपर्छ । दोषी जो भए पनि कारबाही हुनुपर्छ । म पनि त्यस बेला सेनामा कार्यरत थिएँ । मेरो पनि दोष देखिए कारबाही हुनुपर्छ,’ उनले भने ।

बस्न्यातले आफूलाई भने ज्ञानेन्द्र शाह दरबार हत्याकाण्डमा संलग्न रहेको नलाग्ने बताउँदै दाजुको सम्पूर्ण वंश नाश भएको अवस्थामा उनीमाथि लगाइने आरोपको औचित्यमाथि प्रश्न उठाए । साथै, तत्कालीन सरकार र छानबिन समितिले ज्ञानेन्द्र शाहलाई भ्रममा राखेको दाबी समेत उनले गरे ।

नारायणहिटी दरबार हत्याकाण्डबारे विभिन्न समयमा नयाँ बहस र आशंकाहरू सार्वजनिक हुँदै आए पनि घटनाको वास्तविकता र जिम्मेवारीबारे विवाद भने अझै पूर्ण रूपमा अन्त्य हुन सकेको छैन ।

हेर्नुहोस् भिडिओ–
यो पनि पढ्नुहोस्–