काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सदस्यलाई पार्टीको गुमेको शाख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित मिसन जागरण अभियानको विस्तृत व्याख्यासहितको कार्ययोजना पठाएको छ ।
पार्टीका सबै केन्द्रीय सदस्यको जिम्मेवारीसहित पठाइएको मिसन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पार्टीले हार व्योहोर्नुका कारण, कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनुको कारण आदि विस्तृत रूपमा केलाइएको छ ।
मुख्यगरी २०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्तावेजमा उल्लेख गरिएको छ ।
‘२०७४ को आमनिर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमश: वैकल्पिक शक्तितर्फ आकर्षित भएको हो’, पार्टीले तयार गरेको मिसन जागरण अभियानको अवधारणामा भनिएको छ, ‘आकस्मिक र अस्वाभाविक रूपमा आमनिर्वाचनबाट नेपालको राजनीतिमा मुख्य शक्तिका रूपमा स्थापित रास्वपा नेपालको अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो ।’
पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आमजनतासम्म पुगेको एमालेको ठक्याइ छ । जसका कारण २३ र २४ भदौका घटना भएको र मुलुकलाई नियोजित प्रतिगमनतर्फ धकेलिएको दस्तावेजमा उल्लेख गरिएको छ ।

पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार मिसन जागरण अभियानको जिम्मेवारी लिने नेताहरूले वर्तमान राजनीतिको पृष्ठभूमि, निर्वाचनको पराजयका कारण र पार्टीको भावी नीतिका बारेमा स्पष्ट होउन् भन्ने उद्देश्यले विस्तृत र सरल भाषामा अवधारणा पत्र तयार गरिएको बताए ।

उनका अनुसार पार्टीका नेताहरू विगत देखिको राजनीतिक उतार चढाव, निर्वाचन पछिको पार्टीको राजनीतिको मूल्यांकन र भावी कार्यदिशाबारे स्पष्ट भएर उनीहरूले मातहतमा सही सन्देश प्रवाह गर्न सकुन् भन्ने पार्टी केन्द्रले सोचेको बताए ।