धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वन क्षेत्रमा वन कर्मचारीले सडकमा रहेको टेम्पो भीरबाट खसालेको भन्दै सामाजिक सञ्जालमा समाचार र भिडिओ सार्वजनिक भएपछि डिभिजन वन कार्यालय कैलालीले घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।
कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा फैलाइएका कतिपय दाबी भ्रामक रहेको जनाएको हो । डिभिजन वन कार्यालयका अनुसार उक्त क्षेत्र अत्यन्त संवेदनशील तथा कमजोर पर्यावरणीय प्रणाली भएको चुरे क्षेत्रभित्र पर्छ । वन प्रशासनले लामो समयदेखि त्यहाँ भइरहेको वन अतिक्रमण, अवैध टहरा निर्माण तथा सरकारी वन जमिनको अतिक्रमण नियन्त्रणका लागि अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।
विज्ञप्तिअनुसार करिब पाँच महिनाअघि सो क्षेत्रमा पुन: अवैध खोका–छाप्रा निर्माण गरिएको थियो । सामाजिक सञ्जालमा ‘टेम्पो’ भनिएको वस्तु वास्तवमा सञ्चालनयोग्य सवारी साधन नभई चक्का र इन्जिन पूर्ण रूपमा निकालिएको तथा ढकालोसमेत गालेको फलामे अवशेष मात्रै रहेको दाबी वन कार्यालयको छ । उक्त संरचनालाई वन क्षेत्र अतिक्रमण गरी पसल सञ्चालन गर्ने उद्देश्यले राखिएको कार्यालयले जनाएको छ ।
वन कार्यालयले सो संरचना हटाउन एक महिनाअघि नै निर्देशन दिएको र त्यस क्षेत्रमा रहेका अन्य १० वटा छाप्रा हटाइए पनि सम्बन्धित व्यक्तिले उक्त संरचना नहटाएको जनाएको छ । त्यसपछि वन कर्मचारीले उक्त फलामे अवशेषलाई सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइदिएको तर पुन: त्यही स्थानमा ल्याएर पसल सञ्चालन गर्न खोजिएको विज्ञप्तिमा उल्लेख छ ।
कार्यालयका अनुसार २०८३ असार २९ गते पुन: अतिक्रमण हटाउने अभियानका क्रममा वन टोलीले उक्त संरचना हटाउन खोज्दा सम्बन्धित पक्षले अवरोध गरेको थियो । त्यसक्रममा बल प्रयोग गरी हटाउने प्रयास हुँदा भिरालो र असन्तुलित भू–भागका कारण फलामे अवशेष अनियन्त्रित भई भीरबाट खसेको दाबी गरिएको छ ।

वन कार्यालयले सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो सञ्चालनमा रहेको टेम्पोलाई जानाजानी भीरबाट धकेलेर नफालिएको स्पष्ट पारेको छ । साथै, संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि गरिएको कानुनी कारबाहीलाई अतिरञ्जित र भ्रामक ढंगले प्रस्तुत नगर्न तथा सत्यतथ्य बुझेर मात्रै सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ ।

हाल उक्त घटनाबारे सामाजिक सञ्जालमा व्यापक बहस भइरहेका बेला एकातर्फ स्थानीयले वन कर्मचारीको व्यवहारमाथि प्रश्न उठाइरहेका छन् भने अर्कोतर्फ वन कार्यालयले आफ्नो कदम वन अतिक्रमण नियन्त्रण अभियानअन्तर्गतको नियमित कार्य भएको दाबी गरेको छ । घटनाको वास्तविकता र जिम्मेवारीबारे थप छानबिन तथा तथ्यगत पुष्टि हुन बाँकी रहेको देखिन्छ ।


यो पनि पढ्नुहोस्–