काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रलाई नाफा कमाउने संस्थाका रूपमा मात्र हेर्ने प्रवृत्ति अन्त्य गर्दै सम्मान र विश्वासको वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेकी छन् ।
बिहीबार काठमाडौंमा कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड २०२६’ को १८औँ संस्करणलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले आफ्नो घरजग्गासमेत धितो राखेर लगानी गर्ने, रोजगारी सिर्जना गर्ने, राज्यलाई कर तिर्ने र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइन् ।
यस्ता योगदानका बाबजुद निजी क्षेत्रलाई नाफा कमाउने संस्थाका रूपमा मात्र हेर्ने गरिएको उल्लेख गर्दै उनले व्यवसायीका लागि सम्मान नै सबैभन्दा ठूलो प्रेरणा हुने धारणा राखिन् । यस्ता अवार्ड तथा सम्मान कार्यक्रमले निजी क्षेत्रको मनोबल बढाउने र थप योगदान गर्न उत्प्रेरित गर्ने उनको भनाइ छ ।
राणाले वर्तमान सरकारले निजी क्षेत्रप्रति सकारात्मक सन्देश दिएको बताउँदै अब बजेट र नीतिमा गरिएका घोषणा प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् । विगतका बजेटमा पनि राम्रा कार्यक्रम समेटिए पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै यसपटक परिणाम देखिने गरी काम हुनुपर्ने उनको बताएकी छिन् ।