काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले निजी क्षेत्रको विकास र आर्थिक गतिविधि प्रवर्द्धनमा कर्पोरेट मिडिया ग्रुपले उल्लेखनीय भूमिका खेलेको बताएका छन् ।
बिहीबार काठमाडौंमा कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड, २०२६’ को १८औँ संस्करणलाई सम्बोधन गर्दै उनले सरकार र निजी क्षेत्र सुशासनका लागि एउटै रथका दुई पाङ्ग्रा भएकाले दुवैबीच सहकार्य र विश्वास आवश्यक रहेको बताए ।
उनले वर्तमान सरकारले सुशासनको पक्षमा केही सकारात्मक कामको सुरुवात गरेको उल्लेख गर्दै निजी क्षेत्रका केही माग र मुद्दालाई पनि सम्बोधन गर्न थालेको बताए । तर, सुशासनका नाममा व्यवसायीमाथि त्रासको वातावरण सिर्जना हुनु भने चिन्ताजनक रहेको उनको भनाइ थियो ।
श्रेष्ठले निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत सुधार र सुशासनका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए । व्यवसायी मैत्री वातावरण निर्माण गर्दै सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउन सके मात्र आर्थिक गतिविधिले गति लिने उनको धारणा थियो ।