काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र मर्यादित बनाउन ‘राष्ट्रिय महाधिवेशन निर्वाचन आचारसंहिता–२०८३’ जारी गरेको छ ।
पार्टी विधान तथा महाधिवेशन निर्वाचन कार्यविधिअनुसार जारी गरिएको आचारसंहिता उम्मेदवार, प्रतिनिधि तथा सम्बद्ध सबै पक्षका लागि अनिवार्य रूपमा लागू हुने जनाइएको छ ।
आचारसंहिताअनुसार निर्वाचन आयोगबाट उम्मेदवारी विधिवत् प्रमाणित भएपछि मात्रै उम्मेदवारले औपचारिक प्रचार–प्रसार गर्न पाउनेछन् । निर्वाचन अवधिभर कुनै पनि प्रकारको प्यानल, गुटबन्दी, संयुक्त सूची वा समूहगत प्रचारमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
प्रचार सामग्रीको प्रयोगमा समेत कडाइ गरिएको छ । उम्मेदवारले तोकिएको अवधिभित्र अधिकतम २×२ फिट आकारको एकवटा पोस्टर मात्रै प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । महाधिवेशन स्थल तथा वरपरका क्षेत्रमा ब्यानर, फ्लेक्स, पर्चा वा अन्य प्रचार सामग्री प्रदर्शन तथा वितरण गर्न नपाइने उल्लेख छ ।
सामाजिक सञ्जालको प्रयोगलाई पनि मर्यादित बनाइएको छ । फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका माध्यमबाट भ्रामक सूचना फैलाउने, सशुल्क विज्ञापन गर्ने वा मत माग्ने गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ । उम्मेदवारहरूले प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न सक्ने भए पनि जुलुस, शक्ति प्रदर्शन, होहल्ला तथा तडकभडकपूर्ण कार्यक्रम गर्न रोक लगाइएको छ ।

आचारसंहिताले पदीय प्रभावको प्रयोगमा समेत निषेध गरेको छ । बहालवाला पदाधिकारी, मन्त्री वा सांसदले आफ्नो पद, अधिकार वा स्रोत–साधन प्रयोग गरी निर्वाचन प्रभावित पार्न नपाउने व्यवस्था गरिएको छ । आर्थिक प्रलोभन, उपहार वितरण, भोजभतेर, यातायात वा आवासको सुविधा उपलब्ध गराएर मत प्रभावित पार्ने कार्यलाई पनि निषेध गरिएको छ ।

मतदान तथा बन्दसत्रका क्रममा मोबाइल फोन, क्यामेरा लगायतका इलेक्ट्रोनिक उपकरण मतदान कक्षमा लैजान नपाइने तथा गोप्य मतदानको गोपनीयता भंग हुने कुनै पनि गतिविधि गर्न नहुने उल्लेख गरिएको छ ।

आचारसंहिता उल्लंघन भएको प्रमाणसहित उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । उल्लंघन प्रमाणित भएमा मौखिक वा लिखित चेतावनी, उम्मेदवारी खारेजीदेखि थप अनुशासनात्मक कारबाहीसम्मको सिफारिस गर्न सकिने प्रावधान राखिएको छ । साथै निर्वाचन समितिको निर्णयमा चित्त नबुझे केन्द्रीय निर्वाचन आयोगमा पुनरावेदन गर्न सकिने व्यवस्था गरिएको छ ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन भोलि अर्थात् असार ७, ८ र ९ गते चितवनमा आयोजना हुँदैछ । पार्टीले महाधिवेशनलाई अनुशासित, निष्पक्ष र विवादरहित बनाउन निर्वाचन आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ ।
रास्वपाको प्रतिनिधि संख्या चार हजारभन्दा बढी, कुन प्रदेशबाट कति ?