काठमाडौं । सुरक्षित पुनस्र्थापना बिना कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुमबासीहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् ।
होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरूले आज माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन् । सुरक्षित पुनस्र्थापना, भू–स्वामित्वसहितको बास तथा सम्मानजनक आवास सुनिश्चित नगरी बलपूर्वक नहटाउन माग गर्दै भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले हिजो पनि प्रदर्शन गरेका थिए ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आउने शुक्रवार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न सूचना जारी गरेपछि उनीहरू आन्दोलित भएका हुन् । सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानुन बमोजिम न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् ।
होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटक पटक दबाब दिँदा मानसिक तनाव उत्पन्न भएको थापाथली सुकुम्बासी बस्तीबाट हटाइएको बलबहादुर खातीले बताउनुभएको छ ।
यसैगरी, सरकारका विभिन्न निकाय र प्रहरीहरूले २५ हजार बुझेर होल्डिङ सेन्टर छाड्नका दबाब दिदा कहाँ गएर बस्ने चिन्ता बढेको शंखमुलबाट हटाइएका शुरेश राईले दुखेसो पोख्नुभएको छ । सरकारले सडकमा अलपत्र पार्न खोजिएको भन्दै उनीहरुले तत्काल उचित व्यवस्थापन गर्न माग गरेका छन् ।