काठमाडौं । नेकपाका सहसंयोजक माधव नेपालले भावनाको कुरा गरेर मात्रै कम्युनिस्ट एकता नहुने बताएका छन् ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनभित्र देखिएको समस्याको गम्भीर आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘हामीले विगतको विसङ्गतिको आत्मसमीक्षा गर्नुपर्छ । यो एउटा पार्टीको निम्ति मात्रै होइन, नेपालका जति पनि कम्युनिस्ट घटकहरू छन्, ती सबैले आ–आफ्नो पार्टीभित्र आत्ममन्थन गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ । त्यो आत्ममन्थन गरेर सही निष्कर्षमा पुग्न सक्यौँ भने बल्ल कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन सकिन्छ । नभए भावनाको कुरा गरेर मात्र हुँदैन ।’ उनले एकताको लागि पहिला मन मिल्नुपर्ने बताए ।
उनले थपे, ‘कमरेड मदन भण्डारी भन्नुहुन्थ्यो कुराले चिउरा भिज्नेवाला छैन । त्यसकारण कुरा मात्रै गरेर हुनेवाला केही पनि छैन । त्यस हुनाले चिउरा भिजाउनका लागि कि त दही नै चाहिन्छ कि त दूध नै चाहिन्छ ।
त्यसो हुनाले पनि अहिलेको यथार्थताको धरातलमा टेकेर र सही ठाउँमा पुगेर व्यापक छलफल बहसहरू चलाएर हामीले अहिले मिल्न सकिने कुराहरूमा मिलेर अगाडि बढ्नुपर्छ ।’उनले आजभोलि नै कम्युनिस्ट पार्टीहरू मिल्ने सम्भावना नदेखेको बताए ।