भारत । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् ।
सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुन: स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् ।
एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका लागि राजनीति गर्दिनँ । म बंगलादेशका जनताको हितका लागि राजनीति गर्छु । सबै अवरोध र षड्यन्त्र पार गर्दै म यसै वर्ष आफ्नो देश फर्किने छु ।’
उनले आफ्नो पार्टी अवामी लिग कुनै साधारण राजनीतिक दल नभई बंगालको इतिहास, पहिचान र जनताको शक्तिसँग जोडिएको संगठन भएको दाबी गरिन् । साथै, आफ्ना पिता बंगबन्धु शेख मुजिबुर रहमानले देखेको ‘सोनार बांग्ला’ निर्माणको सपना पूरा गर्न आफू राजनीतिमा आएको उल्लेख गरिन् ।
मृत्युदण्डको सजायलाई भनिन् ‘गैरकानुनी’
शेख हसिनाले आफूलाई बंगलादेशमा सुनाइएको मृत्युदण्डको सजायलाई गैरकानुनी, असंवैधानिक र राजनीतिक प्रतिशोधबाट प्रेरित भएको आरोप लगाइन् । उनका अनुसार न्यायपालिकालाई अवामी लिगको नेतृत्वविरुद्ध बदला लिन प्रयोग गरिएको छ ।

उनले भनिन्, ‘म मृत्युसँग डराउँदिनँ । सन् १९७५ मा मैले आफ्ना पिता, दाजुभाइ र परिवारका अधिकांश सदस्य गुमाएकी थिएँ । ममाथि पटक–पटक षड्यन्त्र र आक्रमण भए, तर हरेक पटक त्यसलाई पार गरेकी छु ।’
हसिनाले आफू पाँच पटक जनमतबाट प्रधानमन्त्री निर्वाचित भएको र देशको विकासका लागि निरन्तर काम गरेको उल्लेख गर्दै अवामी लिग विगत ७७ वर्षदेखि अनेकौं प्रतिबन्ध, हमला र रक्तपातका बाबजुद जनताको समर्थनका कारण बारम्बार उठ्न सफल भएको दाबी गरिन् ।