काठमाडौं । यति बेला जारी फिफा विश्वकपमा चर्चाको केन्द्रमा छन् अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सी। उनले यस खेलमा रचेका इतिहासको विश्वभरि नै चर्चा भइरहेको छ।
तर उनको चर्चा खेलमा मात्र सीमित छैन , मेस्सीको आम्दानी कति छ होला भन्ने कौतुहल समर्थकहरूलाई पक्कै लाग्ने गर्छ।
फुटबलको मैदानमा डिफेन्डरहरूलाई आफ्नो इसारामा नचाउने अर्जेन्टिनी फुटबल लेजेन्ड लियोनेल मेस्सीको वित्तीय साम्राज्य पनि उनको खेल जत्तिकै जादुई मात्र होइन, चकित पार्ने खालको छ। उनी विश्वकै धनाढ्य खेलाडीमध्ये पर्छन्।
कति कमाउँछन् ?
फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी मानिने मेस्सी खेल जीवनको उत्तरार्धमा अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका छन्। मेस्सीले खेलमा जस्तै कमाइमा पनि नयाँ कीर्तिमान बनाइरहेका छन्।

फोर्ब्सले जारी गरेको २०२६ को फिफा विश्वकपमा भाग लिने सबैभन्दा धनी खेलाडीहरूको सूचीमा पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा छन् भने अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी दोस्रो स्थानमा छन्।
रोनाल्डो र मेस्सी दुवैको कुल सम्पत्ति १ अर्ब डलरभन्दा बढी छ।
मेस्सीले पछिल्लो १२ महिनामा १४ करोड डलर कमाएका छन्। विशेषगरी मेस्सीको कमाइ मैदानभित्र र बाहिर जस्तै विज्ञापन र व्यापारबाट हो।
उनको सम्पत्ति एक दशमलव एक अर्ब अमेरिकी डलर अर्थात् करिब १ खर्ब ४७ अर्ब नेपाली रुपैयाँ पुगेको छ।
इन्टर मियामीबाट उनले वार्षिक ७ करोड डलर तलब र भत्ता बापत बुझ्छन्। यसमा अमेरिकी लिग एमएलएसको प्रत्यक्ष प्रसारणको अधिकार लिने एप्पल टिभीको सब्सक्रिप्सन र सामान बिक्रीको लाभांश समेटिएको छ।
मैदानबाहिरबाट मात्रै उनले वार्षिक ७ करोड डलर कमाउँछन्। खेलकुद ब्रान्ड एडिडाससँग उनको आजीवन सम्झौता छ, जसबाट मात्रै उनले वार्षिक २ करोड ५० लाख डलर पाउँछन्।
यसबाहेक पेप्सी, मास्टरकार्ड र बुडवाइजर जस्ता बहुराष्ट्रिय कम्पनीका उनी ब्रान्ड एम्बेसेडर हुन्। मेस्सीको आफ्नै मिम होटेल्स नामको होटल चेन, मास प्लस नामको पेय पदार्थको ब्रान्ड र रियल स्टेटमा झण्डै ३० करोड डलरको लगानी रहेको छ।
कति गर्छन् खर्च ?
मेस्सी कमाउन जति खप्पिस छन्, खर्च गर्नमा भने त्यति खुलेको देखिँदैन। यद्यपि उनको जीवनशैली निकै विलासी भने छ, तर कमाइ अनुसार खर्चमा भने केही पछि नै छन्।
शान्त स्वभावका मेस्सीको मियामी, बार्सिलोना, इबिजा र अर्जेन्टिनामा गरी करोडौँ डलरका विलासी महलहरू छन्। उनीसँग १५ मिलियन डलरको निजी जेट गल्फस्ट्रीम जी ५ र पागानी जोन्डा जस्ता संसारकै दुर्लभ र महँगा कारहरूको कलेक्सन छ।
मेस्सी परोपकारी काममा पनि उत्तिकै सक्रिय छन्। मेस्सीले आफ्नो कमाइको ठुलो हिस्सा लियो मेस्सी फाउन्डेसन मार्फत बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै आएका छन्।
उनले युनिसेफ मार्फत विश्वभर कल्याणकारी कार्यमा लाखौँ डलर सहयोग गर्दै आएका छन्।
धनी खेलाडीको सूचीमा मेस्सी कतिऔँ स्थानमा?
विश्वका धनाढ्य खेलाडीहरूको सूचीमा मेस्सी शीर्ष स्थानहरूमा पर्छन्। फुटबलरहरूको मात्र तुलना गर्ने हो भने उनी आफ्ना प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोभन्दा अलिकति मात्र पछि छन्।
फोर्ब्सले तयार पारेको पछिल्लो तथ्याङ्क अनुसार रोनाल्डो एक दशमलव दुई अर्ब डलरसहित पहिलो स्थानमा छन् भने मेस्सी एक दशमलव एक अर्ब डलरसहित दोस्रो धनी फुटबलर हुन्।
समग्र धनाढ्य खेलाडीको सूचीमा भने मेस्सी ५ औँ स्थानभित्र सुरक्षित छन्। बायाँ खुट्टाको जादुले विश्व फुटबलमा साम्राज्य खडा गरेका मेस्सीले आर्थिक क्षेत्रमा पनि आफूलाई अब्बल सावित गरेका छन्। मैदानभित्र गोलको वर्षा गर्ने मेस्सीको आम्दानी पनि उस्तै छ।