काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ।
धानबालीका लागि आवश्यक थप मलको आपूर्ति सुनिश्चित गर्दै किसानलाई राहत पुर्याउने उद्देश्यले मन्त्रालयले विभिन्न माध्यमबाट रासायनिक मल आयातको प्रक्रिया अघि बढाएको जनाएको छ।
सरकार–सरकार (जिटुजी) सम्झौताअन्तर्गत भारतबाट आयात हुन लागेको ३० हजार मेट्रिकटन युरिया मल साउनको दोस्रो सातासम्म नेपाल आइपुग्ने मन्त्रालयको भनाइ छ।
यस्तै, अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत विभिन्न मुलुकबाट एक लाख ८० हजार मेट्रिकटन रासायनिक मल आयात गरिनेछ। यसमध्ये ६० हजार मेट्रिकटन डिएपी र एक लाख २० हजार मेट्रिकटन युरिया रहेको मन्त्रालयले जनाएको छ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको उपलब्धता प्रभावित भए पनि किसानलाई आवश्यक मलको अभाव हुन नदिने गरी आपूर्ति व्यवस्थापन गरिएको मन्त्रालयको भनाइ छ। मन्त्रालयले यस वर्ष हालसम्मकै सबैभन्दा बढी परिमाणमा रासायनिक मल आयात गर्ने लक्ष्य लिएको छ।

मल वितरणका क्रममा स्थानीय तहमा कालोबजारी वा कुनै अनियमितता भएको पाइएमा बिहान ७स्०० बजेदेखि साँझ ७स्०० बजेसम्म सञ्चालन हुने हटलाइन नम्बर ९७०००९९११३ वा क्यूआर कोडमार्फत गुनासो दर्ता गर्न मन्त्रालयले आग्रह गरेको छ।