काठमाडौं । चीनको राजधानी बेइजिङमा नेपाल–चीन लगानी सम्मेलन सुरु भएको छ।
चीनस्थित नेपाली राजदूतावासको आयोजनामा बिहीबारदेखि सुरु भएको दुईदिने सम्मेलनमा नेपालमा रहेका लगानीका सम्भावना र अवसरबारे छलफल गरिएको हो।
सम्मेलनमा चीनको अन्तर्राष्ट्रिय वाणिज्य महासङ्घका द्विपक्षीय सहयोग विभागका महानिर्देशक सु छ्याङले नेपाल र चीनबीचको ऐतिहासिक र मित्रवत् सम्बन्धलाई थप आर्थिक सहकार्यमार्फत सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
उनले चिनियाँ निजी क्षेत्र नेपालमा लगानी विस्तार गर्न इच्छुक रहेको बताउँदै सम्मेलनले दुई देशबीच नयाँ व्यावसायिक साझेदारीको ढोका खोल्ने विश्वास व्यक्त गरे ।
चीनका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनालले नेपाल विदेशी लगानीका लागि आकर्षक गन्तव्य बन्दै गएको उल्लेख गर्दै चिनियाँ लगानीकर्तालाई ऊर्जा, पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा सेवामूलक क्षेत्रलगायतमा लगानी गर्न आग्रह गरे। उनले जुलाई १ देखि चीनले विदेशमा हुने लगानीसम्बन्धी नयाँ नीति लागू गरेको उल्लेख गर्दै त्यसबाट नेपालले पनि लाभ लिन सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपालको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल निर्यात व्यवसायी महासङ्घ तथा निजी क्षेत्रका प्रतिनिधिहरूले नेपालमा लगानी विस्तारका अवसर, व्यापारिक वातावरण र सम्भावनाबारे आफ्ना धारणा राखेका थिए।
सम्मेलनमा नेपालमा लगानी गरिरहेका चिनियाँ कम्पनीका प्रतिनिधिहरूले पनि आफ्नो अनुभव साझा गर्दै नेपालमा लगानीका लागि अनुकूल वातावरण रहेको बताएका थिए। सम्मेलनको पहिलो दिन चीनका करिब ८० वटा कम्पनीका लगानीकर्ता र नेपालका करिब २५ जना व्यवसायी तथा लगानीकर्ताको सहभागिता रहेको आयोजकले जनाएको छ।