काठमाडौं । सेयर बजारमा कारोबार विस्तार भएसँगै ब्रोकर कम्पनीहरूको व्यवसाय पनि बढिरहेको देखिएको छ।
ब्रोकर नम्बर ५८ अन्तर्गत सञ्चालनमा रहेको नासा सेक्युरिटिजले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ। यसअघि गत आर्थिक वर्षमा कम्पनीको आम्दानी ८३ करोड ४० लाख रुपैयाँ पुगेको थियो भने सन् २०२४ मा ३२ करोड ३० लाख रुपैयाँ रहेको थियो।
कम्पनीको कुल आम्दानीमध्ये करिब ९७ प्रतिशत हिस्सा स्टक ब्रोकिङबाट प्राप्त हुने कमिसनले ओगटेको छ।
गत आर्थिक वर्षमा नासा सेक्युरिटिजमार्फत २ खर्ब ६० अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। कारोबारको आकार बढेसँगै कम्पनीको आम्दानी पनि अघिल्लो वर्षको तुलनामा झण्डै १९८ प्रतिशतले वृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीले गत आर्थिक वर्षमा ३१ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। त्यस्तै, ३३ करोड ८० लाख रुपैयाँ नगद सञ्चय गर्न सफल भएको छ। कम्पनीले विगतदेखि नै पुँजी संरचनालाई सन्तुलित अवस्थामा राख्दै आएको जनाएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको कुल नेटवर्थ ८५ करोड ७० लाख रुपैयाँ पुगेको थियो भने कुल ऋण ७५ करोड ७० लाख रुपैयाँ रहेको थियो। यसका आधारमा कम्पनीको गियरिङ अनुपात ०.८८ गुणा पुगेको छ। अघिल्लो वर्ष यो अनुपात ०.८३ गुणा थियो।
कम्पनीका अनुसार हालको पुँजी संरचना ब्रोकिङ सेवा विस्तार र मार्जिन ट्रेडिङ सञ्चालनका लागि पर्याप्त छ। यद्यपि चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ३४ करोड ६० लाख रुपैयाँ लाभांश वितरण गर्ने निर्णयका कारण नेटवर्थमा केही कमी आएको जनाएको छ।
नेपाल धितोपत्र बोर्डले फागुन १ गतेदेखि लागू गरेको मार्जिन ट्रेडिङ सुविधा निर्देशिका–२०८२ अनुसार कम्पनीले आफ्ना ग्राहकलाई उक्त सेवा उपलब्ध गराउन थालेको छ। यही अवधिमा कम्पनीले मार्जिन ऋण सुविधा पनि उपयोग गरेको छ। त्यसका कारण गैर–कोषमा आधारित सुविधासहित कम्पनीको समग्र गियरिङ अनुपात बढेर १.४८ गुणा पुगेको कम्पनीले जनाएको छ।
सन् २००७ मा स्थापना भएको नासा सेक्युरिटिज नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त ब्रोकर तथा निक्षेप सदस्य हो। नेपाल स्टक एक्सचेञ्जको ट्रेडिङ सदस्यका रूपमा रहेको कम्पनीको ब्रोकर सदस्यता नम्बर ५८ हो। कम्पनीले वीरगञ्ज, पोखरा र जनकपुरबाट पनि सेवा दिँदै आएको छ। साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निक्षेप सदस्यको मान्यता पनि प्राप्त गरेको छ।
कम्पनीले सन् २०२२ को सेप्टेम्बरमै मार्जिन ऋण सुविधा सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको थियो। हाल कम्पनीले नेपालको ब्रोकिङ उद्योगमा करिब ६ प्रतिशत बजार हिस्सा ओगटेको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा यो हिस्सा बढेर ६.५ प्रतिशत पुगेको कम्पनीले जनाएको छ।