विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार कोशी अस्पतालको अनुगमन गर्दै अस्पताल परिसरमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने विषयमा प्रारम्भिक छलफल गरेकी छिन् ।
हाल सञ्चालनमा रहेको आँखा उपचार सेवालाई विस्तार गरी छुट्टै आँखा अस्पतालका रूपमा विकास गर्ने तयारीबारे अस्पताल प्रशासनसँग छलफल भएको हो।
मन्त्री मेहताले आकस्मिक कक्ष, विभिन्न वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन संरचनाको निरीक्षण गर्दै सेवा प्रवाह, सरसफाइ र पूर्वाधार व्यवस्थापनको अवस्थाबारे जानकारी लिइन् ।
अनुगमनपछि उनले अस्पताल प्रशासनलाई अस्पताल परिसरको सरसफाइ थप प्रभावकारी बनाउन, निर्माण तथा मर्मतसम्भारका काम निर्धारित समयमै सम्पन्न गर्न, आवश्यक रङरोगन तथा पूर्वाधार व्यवस्थापनलाई व्यवस्थित गर्न तथा प्रत्येक विभागको नियमित अनुगमन गरी प्रगति विवरण पेश गर्न निर्देशन दिइन् ।
त्यसैगरी, अस्पताल परिसरभित्र रहेका अनाधिकृत संरचना हटाउने विषयमा एक महिनाअघि मन्त्रालयबाट दिइएको निर्देशन तत्काल कार्यान्वयन गर्न उनले पुनः निर्देशन दिइन् ।

मन्त्री मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण मन्त्रालयको प्राथमिकता रहेको उल्लेख गरिन् ।