काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आजबाट ८० वर्षका भएका छन् ।
वि.सं. २००४ साल असार २३ गते जन्मिएका ज्ञानेन्द्र शाह नेपालको इतिहासमा राजतन्त्रका अन्तिम राजा हुन्।
तत्कालीन राजा महेन्द्रका कान्छा पुत्र ज्ञानेन्द्र शाह बाल्यकालमै केही समयका लागि राजा घोषणा गरिएका थिए। तर त्यसबेला राणाशासन कायम रहेकाले उनले शासन सञ्चालन गर्ने अवसर पाएका थिएनन ।
पछि वि.सं. २०५८ सालको राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहसहित राजपरिवारका अधिकांश सदस्यको निधन भएपछि ज्ञानेन्द्र शाह नेपालको राजा बनेका थिए।
उनको शासनकाल राजनीतिक उतारचढावका बीच बित्यो। वि.सं. २०६१ सालमा प्रत्यक्ष शासन आफ्नो हातमा लिएपछि उनको कदम विवादमा परेको थियो।
त्यसपछि चर्किएको जनआन्दोलनको परिणामस्वरूप वि.सं. २०६५ साल जेठ १५ गते संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै २४० वर्ष पुरानो राजसंस्थाको अन्त्य गरेको थियो।
राजसंस्थाको अन्त्यपछि ज्ञानेन्द्र शाह सर्वसाधारण नागरिकका रूपमा जीवनयापन गर्दै आएका छन । आज उनी ८० वर्ष गुगेको अवसरमा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरिरहेका छन्।