काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।
गभर्नर डा. विश्वनाथ पौडेल भोलिदेखि भुटान भ्रमणमा जान लाग्नुभएकाले केन्द्रीय बैंकले आजै मौद्रिक नीति ल्याउने अन्तिम तयारी गरेको हो।
मौद्रिक नीतिलाई अन्तिम रूप दिन अहिले राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक बसिरहेको छ। उक्त बैठक लगत्तै सञ्चालक समितिको बैठक बस्ने र सञ्चालक समितिले स्वीकृत गरेलगत्तै आजै नीति सार्वजनिक गरिने एक कार्यकारी निर्देशकले जानकारी दिएका छन्।
यस पटक राष्ट्र बैंकले मौद्रिक नीतिको परम्परागत ढाँचामा ठूलो फेरबदल गर्दैछ। अबदेखि नियामकीय व्यवस्थाहरूलाई मौद्रिक नीतिमा समावेश नगरिने भएको छ।
यस्ता व्यवस्थाहरू नियमित परिपत्र मार्फत जारी गर्न सकिने भएकाले मौद्रिक नीतिलाई विशुद्ध मौद्रिक र समष्टिगत आर्थिक स्थायित्वमा मात्र केन्द्रित गर्न लागिएको हो।
७ प्रतिशतको आर्थिक वृद्धिलाई सघाउने लक्ष्य सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ।
सोही लक्ष्यलाई सघाउने गरी केन्द्रीय बैंकले यसपटक लचिलो मौद्रिक नीति ल्याउन लागेको बुझिएको छ। बजारमा आर्थिक गतिविधि चलायमान बनाउन र सरकारको लक्ष्य भेट्टाउन नीतिगत दरहरूमा लचकता अपनाइने संकेत राष्ट्र बैंकले दिएको छ।