काठमाडौं । आर्थिक वर्षान्त नजिकिँदै गर्दा सरकारले सोमबार एकै दिन २८ अर्ब ५५ करोड ७१ लाख रुपैयाँ खर्च गरेको छ ।
महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार सोबराबरको खर्च भएको देखिएको हो ।
विगतका ११ महिनामा सन्तुलित र व्यवस्थित रूपमा सरकारी खर्च गर्न नसक्दा अहिले अन्तिम महिनामा सरकारलाई खर्च बढाउन दबाब छ । यद्यपि, यो पुरानै प्रवृत्ति हो । जसलाई नयाँ शक्तिका रूपमा उदाएको रास्वपाको दुईतिहाइ जनमतमा बनेको बालेन शाह नेतृत्वको सरकारले समेत तोड्न नसकेको देखिएको छ ।
सरकारले भुक्तानी गर्न पाउने समय २५ असारसम्म मात्रै छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकबाहेकको भुक्तानी आर्थिक वर्ष सकिनुभन्दा एक साताअघि गरिसक्नुपर्छ । असारको महिना ३२ दिनको रहेका कारण सरकारले २५ गतेसम्म भुक्तानी गरिसक्नुपर्छ ।
त्यो मिति नजिकिँदै गर्दा सरकारले एकै दिन साढे २८ अर्ब खर्च गरेको छ । तथ्यांकअनुसार सोमबार नौ अर्ब ६२ करोड ६४ लाख चालू, दुई अर्ब ५७ करोड सात लाख पुँजीगत र १६ अर्ब ३६ करोड वित्तीय व्यवस्थापन खर्च गरेको छ ।
असार २२ गतेसम्म सरकारले लक्ष्यको ७६.४३ प्रतिशत खर्च गरेको छ । सरकारले यो वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । त्यसमा असार २२ गतेसम्म १५ खर्ब तीन अर्ब १० करोड ८१ लाख खर्च भएको छ ।
तर, सरकाले यो वर्ष १६ खर्ब ९६ अर्ब ३२ करोड ६८ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ ।
असार २२ गतेसम्म ३७।२३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । सरकारले यो वर्ष चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको छ । त्यसमा असार २२ गतेसम्म एक खर्ब ५१ अर्ब ८६ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ ।
यो वर्ष दुई खर्ब ५१ अर्ब ३९ करोड ९० लाख रुपैयाँ पुँजीगत खर्च हुने संशोधित अनुमान छ ।
वित्तीय व्यवस्थातर्फ भने सरकारले ८९।७३ प्रतिशत खर्च गरिसकेको छ । यो वर्ष वित्तीय व्यवस्थातर्फ तीन खर्ब १२ अर्ब ९९ करोड २३ लाख रुपैयाँ बजेट छ । त्यसमा असार २२ सम्म तीन खर्ब ३६ अर्ब ७० करोड ७४ लाख रुपैयाँ खर्च भएको छ ।